काठमाडौं – नेकपा एमालेका नेता घनश्याम भुसालले केपी ओलीसँग आत्मसमर्पण नगर्ने संकेत गर्दै झलनाथ र माधव नेपाललाई गाली गरेर नेकपा एमालेलाई विभाजित गर्न लागिएको टिप्पणी गर्नुभएको छ।
भुसालले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा राख्दै नेपालमा संविधान जारी हुँदा असफल भएका र प्रतिनिधिसभा पुनःस्थापना हुँदा दोस्रो पटक असफल भएका शक्तिहरुले चुनावको नाममा फेरि प्रतिनिधिसभा बिघटन गराएर आफूहरूसँग बदला लिन खोजेको आरोप लगाउनुभएको छ।
उहाँले नाम नलिई विदेशी शक्तिले प्रतिनिधिसभा विघटनको बाटोमा लैजान खोजेको संकेत गर्नुभएको छ।
भुसालले भन्नुभएको छ , ‘हिजो प्रचण्डलाई गाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भयो । आज झलनाथ माधवलाई गाली गरेर बाँकी रहको एमालेलाई विभाजित गरिँदैछ । विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद छ । तर, आत्मसमर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा हामीलाई राम्ररी थाहा छ ।’
यसो भनेर यदि जसपाको महन्थ ठाकुर पक्ष नयाँ सरकार गठनको पक्षमा नउभिए केपी ओलीलाई सत्ताबाट हटाउन माधव नेपाल पक्षले सांसदबाट राजीनामा दिने संकेत भुसालले गर्नूभएको छ।