दोलखा- कोभिड १९ को संक्रमणबाट नेकपा एमालेका नेता तथा दोलखा जिल्ला निर्वाचन ख बाट प्रत्यक्ष निर्वाचित बागमती प्रदेश सांसद पशुपति चौलागाईको निधन भएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि गत सोमबार पीसीआर परीक्षण गरेका सांसद चौलागाई मंगलबार कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भएका थिए ।
उनको मनमोहन मेमोरियल अस्पतालमा उपचारको क्रममा मंगलबार राति करिब १० बजे मृत्यु भएको थियो । चौलागाईको दोलखा जिल्ला वैतेश्वर गाउँपालिका वडा नं. ४ काब्रे स्थायी घर रहेको छ । वि.सं. २०२० फागुन ५ गते जन्मिएका चौलागाई २०३६ देखि २०३८ सम्म अनेरास्ववियु दोलखाको संस्थापक उपाध्यक्ष भएका थिए ।
२०३७ सालदेखि २०४७ सम्म नेकपा माले दोलखा जिल्ला कमिटी सदस्य रहेका चौलागाई २०४२ सालमा सानोठिमी क्याम्पस भक्तपुरको स्ववियु सभापति भएका थिए । २०५६ सालमा दोलखा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचन जितेका उनी २०६३/ ६४ को अन्तरिम व्यवस्थापिका सांसद बनेका थिए ।
वि.सं. २०७०र७४ सालमा उनी संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । त्यस्तै २०७१ सालदेखि २०७५ सम्म नेकपा एमालेका पोलिटव्यूरो सदस्य थिए । काठमाडौ पेप्सीकोलामा बस्दै आएका चौलागाईका श्रीमती, एक छोरा र दुई छोरी छन् ।