संवैधानिक आयोगहरुमा रिक्त रहेका पदाधिकारी नियुक्तिका लागि सिफारिस

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको संवैधानिक परिषदले संवैधानिक आयोगहरुमा रिक्त रहेका पदाधिकारीहरु नियुक्तिका लागि सिफारिस गरेको छ । गत मंसिरमा जस्तै सरकार संकटमा परेका बेला ओलीले हतार हतार संवैधानिक परिषदको बैठक बोलाएर आयोगहरुमा सिफारिस गरेका हुन् ।

परिषदको बालुवाटारमा बसेको बैठकले लोकसेवा आयोगको अध्यक्षमा ओलीकै गृहजिल्ला झापा गौरादहका माधव रेग्मीलाई सिफारिस गरेको छ । पूर्वसचिव रेग्मी पाँच वर्ष कार्यकाल पूरा गरेर ५४ वर्षको उमेरमा लोक सेवा आयोगबाटै अवकास भएका थिए ।

त्यस्तै, अख्तियार अनुसन्धान आयोगको रिक्त दुई आयुक्तमा पूर्वसचिव डा। हरि पौडेल र दिलीप रेग्मी सिफारिस भएका छन् । निर्वाचन आयोगको रिक्त सदस्यमा डा। वीरबहादुर राईलाई सिफारिस गरिएको छ ।

प्रस्तावित संवैधानिक आयोगका पदाधिकारीको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने व्यवस्था छ । संवैधानिक परिषद्मा प्रधानमन्त्री, प्रधानन्यायाधीश, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका सभामुख, उपसभामुख र विपक्षी दलको नेता सदस्य रहने व्यवस्था छ ।

सरकारले गत मंसिर ३० गते बहालसदस्यको बहुमतले निर्णय गर्नसक्ने व्यवस्था गरि अध्यादेश ल्याएर संवैधानिक आयोगहरूमा पदाधिकारी तथा सदस्यहरू सिफारिस गरेको थियो । सभामुख अग्नी सापकोटा र विपक्षी दलका नेता शेरबहादुर देउवा बैठकमा अनुपस्थित रहे भने उपसभामुख नभएकाले बैठकमा गणपूरक सँख्या पुग्न सकेको थिएन ।

सोही दिन बैठकमा गणपूरक संख्या नपुगेपछि ओलीले आफूलाई कम्फर्ट हुनेगरि अध्यादेश ल्याएका थिए । तत्कालीन नेकपाभित्र ओलीविरुद्ध पुष्पकमल दाहाल र माधव नेपाल समूहको दूरी बढेपछि सरकार संकटमा परेको थियो ।

जसनसुकै बेला सरकार ढल्न सक्ने अवस्थामा ओलीले अध्यादेश ल्याएरै आफ्ना विश्वासपात्र प्रेमकुमार राईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्त सिफारिस गरेका थिए।

अहिले पनि संसदमा विश्वासको मत नपाउने पक्का भइसकेपछि सरकार ढल्नै लाग्दा अघिल्लो दिन ओलीले रिक्त रेहका संवैधानिक आयोगमा पदाधिकारी सिफारिस गरेका हुन् ।

ओलीले जुन अध्यादेशको व्यवस्थाअनुसार नियुत्तिः सिफारिस गरेका छन्, सो अध्यादेश संविधान विपरित भन्दै सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ ।

– news24nepal