संक्रमितको उद्धारका लागि वीरेन्द्रनगरले ल्यायो एम्बुलेन्स सेवा

सुर्खेत – कोभिड बिरामीको उद्धारका लागि सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले एम्बुलेन्स सेवा संचालनमा ल्याएको छ । वीरेन्द्रनगर क्षेत्रभित्रका कोरोना संक्रमित बिरामीको उद्धारका लागि वीरेन्द्रनगरले तीन वटा एम्बुलेन्स संचालनमा ल्याएको हो ।

आइतबार नगर प्रमुखको निजी सचिवालयले निर्णय सार्वजनिक गर्दै बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म जनस्वास्थ्य कार्यालय र नगरपालिकाको एक एक वटा एम्बुलेन्सले पालैपालो सेवा दिने जनाएको छ । यस्तै रातीको समयमा जनस्वास्थ्यको थप अर्को एउटा एम्बुलेन्सले सेवा दिनेछ ।

नगर पमुख देवकुमार सुवेदीले कोभिडका बिरामीको उद्धार तथा उपचारमा ढिलाई नगर्न तत्काल एम्बुलेन्स सेवा संचालनमा ल्याइएको बताए । उनका अनुसार एम्बुलेन्स छुट्नु पूर्व कोभिड पोजेटिभ भएको, लक्षणहरू भएको र अस्पतालमा बेडको एकीन स्वयं बिरामी वा कटकुवा अस्पतालको ड्यूटीको स्वास्थ्यकर्मीले गर्नुपर्नेछ ।

तर अस्पतालबाट डिस्चार्ज भएका वा कोभिड टेस्ट नगरेका विरामी कोभिड एम्बुलेन्सले नबोक्ने बताइएको छ । एम्बुलेन्स बोलाउँदा वीरेन्द्रनगर कटकुवा कोभिड हस्पिटलको फोन नम्बरमा सम्पर्क गर्नुपर्नेछ । फोन सम्पर्कपछि स्वास्थ्यकर्मीले बिरामिको बारेमा बिस्तृत बुझेर मात्र एम्बुलेन्स खटाइने छ ।

भने जनप्रतिनिधी र कर्मचारीको सम्पर्कमा आउने बिरामीलाई समेत अवस्था हेरी तत्काल उद्धार गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।