कोरोना संक्रमणको रोकथाम, नियन्त्रण तथा उपचारका लागि चीनले अनुदानस्वरूप दिन लागेको अक्सिजन सिलिन्डर लगायतका स्वास्थ्य सामग्री लिन नेपाल वायुसेवा निगमको वाइडबडी जहाज वैशाख २७ गते चीनको राजधानी बेइजिङ जाने भएको छ ।
निगमका सहायक प्रवक्ता सुलेख मिश्रले कोरोनाको उपचारका लागि चीनले दिने अक्सिजन सिलिन्डर लगायतका स्वास्थ्य सामग्री लिन नेपाल वायुसेवा निगमको फ्लाइट नम्बर आरए–४२५१ को वाइडबडी जहाज वैशाख २७ गते चीनको राजधानी बेइजिङ जाने निश्चित भएको जानकारी दिए ।
जहाजले पहिलो खेपमा ४०० वटा सिलिन्डर ल्याउने छ । चीनले नेपाललाई २० हजार अक्सिजन सिलिन्डर दिने घोषणा यसअघि नै गरिसकेको छ ।
सहायक प्रवक्ता मिश्रले भने, ‘वैशाख २७ गते रातको ११ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको सो जहाज ५ घण्टा ४५ मिनेटपछि बेइजिङ पुग्ने छ र त्यहाँबाट ४०० वटा सिलिन्डर र स्वास्थ्य सामग्री लिएर वैशाख २८ गते निगमको फ्लाइट नम्बर आरए–४२५२ को वाइडबडी जहाज स्थानीय समयअनुसार १०ः३० बजे नेपालका लागि उड्ने छ, छ घण्टा २० मिनेटको उडानपछि वैशाख २८ गते नै नेपाल आइपुग्ने छ ।’
परराष्ट्र मन्त्रालयका सहसचिव तथा प्रवक्ता सेवा लम्सालले कोरोना संक्रमणको रोकथाम, नियन्त्रण तथा उपचारका लागि चीनले अनुदानस्वरूप दिन लागेको भेन्टिलेटर लगायतका स्वास्थ्य सामग्री स्थलमार्गबाट अबको ५ दिनभित्र तातोपानी नाका आइपुग्ने जानकारी दिए ।
स्थलमार्गबाट ४० थान भेन्टिलेटर, २० थान अटोमेटेड एनालाइजर, १० थान डीआर मेसिन, २० थान पोर्टेबल अल्ट्रासाउन्ड र ३० थान एनेस्थेसिया मेसिन लगायतका स्वास्थ्य सामग्री आउन लागेको हो ।
#गोरखापत्र दैनिक