वीरेन्द्रनगरमा २५ शैयाको कोभिड अस्पताल सञ्चालन


सुर्खेत – वीरेन्द्रनगर नगरपालिकाले अक्सिजनसहितको २५ शैयाको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । कटकुवा स्वास्थ्य चौकीमा निर्माण गरिएको अस्पतालको शुक्रबार नगर प्रमुख देवकुमार सुवेदी उदुघाटन गरेका हुन् ।

कोरोना माहामारीलाई मध्यनगर गर्दै गएको १४ गते बसेको वीरेन्द्रनगर नगर कार्यपालिकाको बैठकले कोरोना कोषमा १ करोड बजेट जम्मा गरेर अक्सिजनसहितको कोभिड अस्पताल सञ्चालन गर्ने निर्णय गरेको थियो ।

कोरोनाको भाइरसको नयाँ भेरियन्ट तीव्ररुपमा फैलिरहेको बेला संक्रमितको सहज उपचारका लागि कोभिड अस्पताल सञ्चालनमा ल्याइएको नगर प्रमुख सुवेदीले बताए । हाल अस्पतालको २५ शैयामध्ये १० शैया अक्सिजनसहितको रहेको उनले जानकारी दिए ।

उनका अनुसार अस्पताललाई ५० शैयाको बनाउने गरी तयारी भइरहेको छ । भने हाल अस्पतालका लागि २ जना मेडिकल अफिसर स्वास्थ्यकर्मीको व्यवस्थापन गरिएको छ । यस्तै नगरपालिकाले २ जना कर्मचारीलाई परामर्शकर्ताको रुपमा खटाएको छ । उनीहरुले कोभिड पोजेटिभ भइ घरमै वा अस्पतालका आइसोलेशनमा बसेका बिरामीलाई टेलिफोन मार्फत परामर्श दिएर मनोबल उच्च बनाउने काम गरिरहेका छन् ।

कोरोना माहामारीको दोस्रो लहरसँगै सुर्खेतको वीरेन्द्रनगर नगरपालिका पनि माहामारी नियन्त्रणमा सक्रिय बन्दै गएको हो । कर्णाली प्रदेश राजधानीमा अवस्थित यस नगरपालिका पछिल्लो समय माहामारी नियन्त्रणका लागि प्रदेश सरकार भन्दा बढि खटिएको देखिन्छ ।

कोरोनाका कारण सुर्खेतसँगै कर्णाली प्रदेशमा हालसम्म ७३ जनाको मृत्यु भइसकेको छ । भने २ हजार ८ सय २१ जना बढि सक्रिय संक्रमित बिरामी छन् । जसमध्ये सुर्खेतका मात्रै १४ सय ६३ बढि संक्रमित रहेका छन् ।