बालविवाह गरेका युवति भन्छन्ः ‘अहिले आएर पछुतो भयो’

‘सुत्केरी हुँदादेखि दुख्न सुरु भएको कम्मर अहिलेसम्म पनि सञ्चो भएको छैन,’

वीरेन्द्रनगर–१६ सुर्खेतकी नन्दा विक १७ बर्षकी भईन् । १५ बर्षको उमेरमा विवाह गरेकी नन्दाको साथमा एक छोरा पनि छन् । उनी १६ बर्षको हुँदा बच्चा जन्माएकी थिईन् । स्कुल पढ्दापढ्दै प्रेम विवाह गरेकी नन्दालाई बालविवाह गर्दा र सानैमा बच्चा जन्माउँदा हुने नकारात्मक असरबारे अहिले महसुश हुन थालेको छ ।
‘सुत्केरी हुँदादेखि दुख्न सुरु भएको कम्मर अहिलेसम्म पनि सञ्चो भएको छैन,’ उनले भनिन्, ‘हातखुट्टा बाउँडिने र रिंगटा लागेर त केही मिनेटसम्म केही नदेखिने अवस्था पनि आउँछ ।’
सानै उमेरमा आमा बन्नुपर्दा स्वास्थ्यमा एकपछि अर्को समस्या निरन्तर आउने गरेको उनले बताईन् । उनलाई बालविवाह गरेकोमा पछुतो पनि लाग्ने गर्छ । ‘सानै उमेरमा माया बस्यो, त्यसबेला बालविवाहका वेफाईदाबारे पनि थाह थिएन,’ नन्दाले भनिन्, ‘घरकाले पढ भन्दाभन्दै भागेर विहे गरेँ, पढाई पनि छुट्यो ।’ सानैमा बच्चा जन्माउँदा बच्चाको स्याहार गर्न समेत आफूलाई समस्या भएको नन्दाले सुनाईन् ।

प्रतिनिधि तस्वीर :उमेर नपुग्दै बच्चा जन्माएका कर्णालीका आमाहरु

घर परिवारबाट साथ नपाएकी उनी अहिले माईतीमा बस्दै आएकी छिन् । ‘विवाह गर्दा श्रीमानको केही कमाई थिएन, यसले गर्दा आफ्नो र बच्चाको लागि खानपीन र लत्ताकपडा जोहो गर्नै धौ भयो,’ उनले भनिन्, ‘अहिले त झन् श्रीमानको र घरपरिवारको साथ समेत पाएकी छैन, माइतीमै बसिरहेकी छु ।’
नन्दा मात्र होईन, सानै उमेरमा विवाह गर्दा र परिपक्व नहुँदै बच्चा जन्माउँदा स्वास्थ्य समस्या भोगेका उनीजस्ता थुप्रै युवतिहरु छन् । महिलाको उमेर २० बर्ष पार भएपछि मात्र विवाह गर्नुपर्ने कानूनी प्रावधान छ । तर समाजमा प्रावधान लागु हुँदैन । अधिकांश युवायुवतिले उमेर नपुग्दै भागी विवाह गर्छन् ।
सुर्खेतको गुर्भाकोट नगरपालिका–४ की दुर्गा भण्डारीको कथा पनि नन्दाको जस्तै छ । पाँच बर्षअघि ८ कक्षामा पढ्दै गर्दा दुर्गाले भागी विवाह गरेकी थिईन् । १४ बर्षको उमेरमा विवाह गरेकी उनले १९ बर्षको उमेर पुग्दा दुई सन्तानलाई जन्म दिईसकेकी छिन् ।
उमेर नपुग्दै विवाह गर्दा र आमा बन्दा स्वास्थ्यमा आउने समस्या त छँदै छ । दुर्गालाई यसका कारण अवसरबाट बञ्चित हुनुपरेकोमा अझ धेरै पछुतो लागेको छ । ‘सँगैका साथीहरु कोही जागीरे भए, कोही पढ्दै छन्,’ उनले भनिन्, ‘साथीहरुको आफ्नो भविष्य बन्दैछ, मैँले भने अहिले नै बच्चाको स्याहार गर्दै बस्नुपरेको छ ।’
दैलेखको भगवतीमाई गाउँपालिका–५ की अन्सु खड्का सानै उमेरमा विवाह गर्दा र आमा बन्दा भविष्य नै अन्धकारतिर धकेलिएको बताउँछिन् । ‘सानै उमेरमा बच्चा जन्माउँदा स्वास्थ्यमा समस्या आईरहन्छ, पढाई बीचैमा छोड्नुपर्दा भविष्य अन्धकारतिर धकेलियो,’ उनले भनिन् । बालविवाह सानै उमेरमा बच्चा जन्माउँदा हुने नकारात्मक असरबारे आफूलाई थाह नहुँदा समस्या भएको अन्सुले बताईन् ।


तस्वीर :सांकेतिक

बालविवाह दर उच्च रहेको कर्णाली प्रदेशमा केही बालविवाह त अभिभावककै मञ्जुरीमा हुने गरेका छन् । यसमा पहिलेको तुलनामा अहिले भने केही सुधार आएको छ । उमेर नपुग्दै भागी विवाह गर्ने र सानैमा आमा बन्नेको संख्या भने झन् बढ्ने गरेको प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्याङ्कमा उल्लेख छ ।
प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थिक बर्ष २०७४/०७५ यता २२ वटा विभिन्न जिल्लाबाट बालविवाह सम्बन्धी मुद्दा आउने गरेका छन् । प्रहरीमा आउने मुद्दा अभिभावकले गराउन थालिएको विवाह भएकोले आफैं बालविवाह गर्नेहरुको एकीन तथ्याङ्क राख्न नसकिने प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक राजेशनाथ वास्तोलाले बताए ।
बालविवाहका कारण सम्बन्धविच्छेद पनि बढेको छ । जिल्ला अदालत सुर्खेतका अनुसार आर्थिक बर्ष २०७५/७६ मा सुर्खेतका मात्र ४२५ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका थिए । जसमध्ये ३३५ मुद्दा फच्र्यौट भैसकेका छन् । २०७६/७७ मा म्बन्धविच्छेदका ४२१ मुद्दा दर्ता भएकोमा २४९ फच्र्यौट भईसकेको अदालतले जनाएको छ ।
कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो १० बर्ष (२०६७–२०७६) मा कर्णाली प्रदेशका १० हजार ७२२ जनाले २० नपुग्दै पहिलो बच्चा जन्माएका छन् ।