जुम्ला-जुम्लामा कोरोना संक्रमण बढेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले ओपिडी सेवा बन्द गरेको छ । प्रतिष्ठानले जोखिम कम गर्न भन्दै ओपिडी सेवा वन्द गरेर इमर्जेन्सी उपचार मात्रै थालेको हो ।
प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक डा. राजीव शाहकाअनुसार सबै स्वास्थ्यकर्मी कोरोनाको उपचरमा खटिनुपर्ने भएको हुँदा अहिले आकस्मिक वाहेकका सेवा बन्द भएका छन् । ओपिडीको जनशक्ति कोरोनाको उपचारका लागि खटिएको प्रतिष्ठानले जनाएको छ । वैशाख १७ गते देखि ओपिडी बन्द गरिएको उनले बताए ।
प्रतिष्ठानले जारी गरेको सूचनाअनुसार कोरोना भाइरसको विषम परिस्थितिमा प्रतिष्ठानमा कार्यरत कर्मचारी, सर्वसाधारण बिरामी तथा समुदायको सरक्षाको लागि ओपिडी सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको हो । यद्यपी इमर्जेन्सी बिरामीका लागि हटलाइन सेवा नम्बर व्यवस्थापन गरिएको सूचना जारी गरेको छ । प्रतिष्ठानले १६६०८७५२५५५ नम्बरको हटलाइन सञ्चालनमा ल्याएको छ ।
टेलिफोनबाट स्वास्थ्य परामर्श सेवा
साधारण समस्या भएका बिरामीले टेलिफोनमार्फत चिकित्सकलाई परामर्श सेवा लिन समेत टेलिफोन नम्बर सार्वजनिक गरिएको छ । प्रतिष्ठानमा विशेषज्ञ डाक्टर पुजन रोकाया हाडजोर्नी, डाक्टर सूर्यमान लिम्बु सर्जरी, डाक्टर राजेन्द्रमणि गिरी मेडिसिन, प्रा.डा. सुनिल बुढाथोकी बालरोग, डाक्टर राजीव शाही स्त्री तथा प्रसुति रोग विशेषज्ञको फोन सार्वजनिक गरिएको छ ।
यसैगरी, कोरोना संक्रमण बढेपछि जनशक्ति खटन पटन व्यवस्थापन गरेको छ । २४ सै घण्टा ५ जना डाक्टर राखेर इमर्जेन्सी र कोरोनाको उपचारमा लागिरहेको प्रतिष्ठानले जनाएको छ । यसअघि ६ जना डाक्टर नेपालगज्जको भेरी अस्पतालमा ड प्रतिष्ठानले पठाएको छ ।
४८ संक्रमित, एक जना सिकिस्त
कोरोना संक्रमणको उपचारमा खटिरहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अहिले जिल्ला बाहिरबाट बिरामी आउन थालेका छन् । सुर्खेतबाट आएका मध्य स्वास्थ्य समस्या भएका वेड र अक्सिजन आवश्यक बिरामीको समेत उपचार भइरहेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले एकजना बिरामी गम्भीर भएको जानकारी दिएको छ । यसैगरी कोरोना पोजेटिभको संख्या ४८ पुगेको छ । प्रतिष्ठानका मेडिकल रेकडर मेघराज बुढाका अनुसार ४ वटा बाहिरबाट आएको सेम्पल र जुम्लाका ४४ जना गरी ४८ जना संक्रमित रहेका छन् ।