देशभर थपिए ७४४८ कोरोना संक्रमित, एकैदिन ३७ जनाको मृत्यु

काठमाडौं – देशभर ७ हजार ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा थप ७ हजार ४ सय ४८ जनामा कोरोना पुष्टि भएको हो। काठमाडौँ उपत्यका मध्ये सबैभन्दा बढी काठमाडौंमा २ हजार ९ सय २२, भक्तपुरमा २ सय २२ र ललितपुरमा ५२२ जना गरेर काठमाडौँ उपत्यकामा मात्रै ३ हजार ६ सय ६६ जनामा पोजेटिभ देखिएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ४३ हजार ४ सय १८ पुगेको छ। यस्तै, पछिल्लो २४ घण्टामा २ हजार २१ जना निको भएका छन्। यससँगै कोरोनामुक्त हुने संख्या २ लाख ८६ हजार १५ पुगेको छ । त्यस्तैगरी, पछिल्लो २४ घण्टामा थप ३७ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ३ हजार ३ सय ३२ पुगेको छ।