अध्ययन विदामा रहेका स्वास्थ्यकर्मीलाई स्वास्थ्यसंस्थामा खटिन स्वास्थ्य मन्त्रालयको अनुरोध

सबै प्रयोगशालाहरुलाई २४ घन्टै नमुना लिन निर्देशन

 काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्ययन विदामा रहेका स्वास्थ्यकर्मीलाई स्वास्थ्य सेवामा हाजिर भै सेवामा खटाउन सरोकारवालालाई अनुरोध गरेको छ। मन्त्रालयले आइतबार बसेको बैठकले अध्ययन विदामा रहेका स्वास्थ्यकर्मीलाई आफ्नो दरवन्दी रहेको स्वास्थ्यसंस्थामा हाजिर भै सेवा दिन खटाउने निर्यण गरेको हो।

यसका साथै चिकित्सा विद्यामा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरु तथा अध्यापन गराउने सम्पूर्णलाई सम्बन्धित विश्वविद्यालय तथा कलेजहरुले उपचार व्यवस्थापनमा लगाउने साथै आवश्यकता अनुसार अन्य अस्पतालमा खटाउन सकिने मन्त्रालयले जनाएको छ।

त्यस्तै, कोभिड(१९ परीक्षण गर्न ७ वटै प्रदेशमा रहेका सबै प्रयोगशालाहरुले २४ घण्टा सातै दिन नमुना लिन व्यवस्था गर्न समेत मन्त्रालयले निर्देशन दिएको छ।