संक्रमितको उपचारमा खटिँदा स्वास्थ्यकर्मी संक्रमित भए प्रदेश सरकारले उपचार खर्च व्यहोर्ने

प्रदेश नम्बर २ को सरकारले कोभिड–१९ महामारीको नियन्त्रण, रोकथाम र उपचारमा खटिएका जनशक्ति सङ्क्रमित भएमा सम्पूर्ण उपचार खर्च व्यहोर्ने भएको छ।

कोभिड–१९को दोस्रो लहर भयावहरूपमा बढेपछि आइतबार बसेको प्रादेशिक कोरोना सङ्कट व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

साथै उक्त बैठकले भविष्यमा बढ्न सक्ने सङ्क्रमितको चापलाई दृष्टिगत गरी प्रदेश भित्रका निजी अस्पताललाई नेपाल सरकारको मापदण्डबमोजिम सम्झौंता गरी सञ्चालनमा ल्याउन सामाजिक विकास मन्त्रालयका सचिवको नेतृत्वमा रहेको समितिलाई जिम्मेवारी दिनेसमेत निर्णय गरेको हो।

प्रदेशभित्र सञ्चालनमा रहेका सार्वजनिक तथा सामुदायिक अस्पतालको प्रयोगशालामा पिसिआर जाँच गर्न लगाउनसमेत निर्णय गरेको छ।

मुख्यमन्त्री लालबावु राउतको अध्यक्षतामा बसेको बैठकमा मन्त्री, प्रमुख सचिवका साथै प्रदेशमा सचिव, सुरक्षा निकाय र स्वास्थ्य क्षेत्रका पदाधिकारीहरुको उपस्थिति थियो।