पोखरा – गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २३१ पुगेको छ । गण्डकी प्रदेशमा पछिल्लो ४८ घन्टामा ८ जनाको ज्यान गएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार पोखरा १६ का ७७ वर्षीय १ पुरुषको होम आइसोलेसनमा ज्यान गएको हो ।
पोखरा २६ की ५८ वर्षीया १ महिला, पोखरा १६ कै ७३ वर्षीया वृद्धा, पोखरा १९ का ५४ वर्षीय वृद्ध र पोखरा १० की १ महिलाको मृत्यु भएको हो । यस्तै, पर्वतको कुश्मा नगरपालिका ५ की ५८ वर्षीया महिला, दाङको राप्ती गाउँपालिका ५ का ४३ वर्षीय पुरुष, रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं ३ का ७५ वर्षीय पुरुषको ज्यान गएको हो ।
मृतकहरुको पोखराका मणिपाल शिक्षण अस्पताल, मेडिप्लस अस्पताल र गण्डकी मेडिकल कलेजमा उपचारकै क्रममा ज्यान गएको निर्देशनालयले जनाएको छ । यसैगरी, निर्देशनालयको पछिल्लो तथ्यांकअनुसार गण्डकीमा ४९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जसमा कास्कीका ३६८, बागलुङका ४, पर्वतका ६, स्याङ्जाका ९८, तनहुँका ११, नवलपरासी पूर्वका २९, लमजुङका ९, म्याग्दीका ३, मुस्ताङका १३ र मनाङका ४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयले उल्लेख गरेको छ । यसरी हेर्दा पछिल्लो तथ्यांकले कास्कीमा मात्रै जना संक्रमित भएको देखिन्छ ।
शनिबार निर्देशनालयले तथ्यांक अद्यावधि नगरेर आइतबारमात्रै अद्यावधि गरेकाले कोरोना संक्रमण अझ तीव्र भएको देखिएको छ । तथापि कोरोना संक्रमण भने दिनप्रति दिन बढिरहेको छ । निर्देशनालयको पछिल्लो अद्यावधिक तथ्यांक अनुसार गण्डकीमा कोरोना संक्रमितको संख्या १९ हजार १ सय ३६ पुगेको छ ।