रुपन्देही । आईसीयू बेड नपाएर शुक्रबार बिहान रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
एक दिनदेखि अस्पतालको इमर्जेन्सीमा बसेर आईसीयू बेडको प्रतीक्षा गरे पनि बेड खाली नभएपछि आज बिहान उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । बुटवल ११ का ८३ वर्षीय पुरुषलाई स्वास्थ्यमा समस्या देखिएपछि वैशाख १५ गते अस्पताल पुर्याइएको थियो । कोरोनाको लक्षण देखिएपछि १५ गते नै स्वाव संकलन गरिएकोमा १६ गते उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो ।
रिपोर्ट पोजेटिभ आएसँगै बेडको प्रतीक्षामा इमर्जेन्सीमा अक्सिजनको सहायतमा राखिएको उनको आज बिहान साढे ९ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए । लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको अत्यधिक भीड भएपछि हाल फिबर क्लिनिकसहित इमर्जेन्सीमासमेत कोरोना संक्रमितलाई राखेर उपचार चलिरहेको उनले बताए ।
कोरोना विशेष अस्पताल र भिम अस्पतालका सबै बेड भरिएपछि लुम्बिनीले फिबर क्लिनिक र इमरर्जेन्सीलाई समेत कोरोनाको उपचारमा प्रयोग गरेको हो । अघिल्लो साता पनि देवदह नगरपालिकाका एक वडा अध्यक्षकी श्रीमतीको आईसीयू नपाएर फिबर क्लिनिकमा मृत्यु भएको थियो ।
बेड नपाउँदा बिरामीको बिचल्ली
संक्रमणको दर दिन प्रतिदिन बढ्दै गएपनि आइशोलेसन अस्पतालमा बेड नहुँदा विरामीको विचल्ली हुन थालेको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएका अधिकांश संक्रमितलाई आईसियूमा राखी उपचार गर्नुपर्ने भएपनि बेड नभएपछि ज्वरो क्लिनिकमा अक्सिजनको सहारामा राख्न बाध्य भएको विरामीका आफन्तको गुनासो छ ।
बुटवलमा कहीँ कतै बेड नपाएपछि भैरहवाको भीम अस्पतालमा श्रीमतीलाई लगेको गुल्मीका केशव मरासिनीले बताए । ‘यस्तो समयमा पनि सरकारले स्वास्थ्यमा ध्यान नदिए कहिले दिने रु’ उनको प्रश्न छ ।
तीन दिनदेखि दिदीलाई ज्वरो क्लिनिकमा भर्ना गरेका बुटवल बेलबासका गम्भीर लामिछानेले चिकित्सकले आईसियूमा भर्ना गर्न भन्दै दुई दिनअघि नै रिफर गरिदिए पनि बेड नभएपछि क्लिनिकमै राखिएको बताए । श्वास फेर्न गाह्रो भएपछि अस्पताल आउँदा उनको अक्सिजन लेबल घटेर ७६ पुगेको थियो । सोर्स लगाएर भएपनि बल्लतल्ल ज्वरो क्लिनिकमा एउटा बेड पाएर भर्ना गरिएकी उनलाई अहिले अक्सिजन दिएर राखिएको छ ।