सुर्खेत । कर्णालीका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा दिन सुर्खेतको वीरेन्द्रनगरमा अत्याधुनिक सुविधासहितको अस्पताल संचालनमा आएको छ । कर्णालीमा निजी क्षेत्रबाट ठुलो लगानीमा अत्याधुनिक सुविधासहितको कर्णाली केयर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर संचालनमा आएको हो ।
चैत १२ गतेदेखि संचालनमा आएको कर्णाली केयरमा विशेषज्ञ स्वास्थ्य सेवासहित आइसियू कक्षदेखि सिटी स्क्यानसम्मका सेवा उपलब्ध छन् । ५० वेडको अत्याधुनिक सुविधायुक्त कर्णाली केयर चैत १२ गतेदेखि अनौपचारीक रुपमा संचालनमा आएपनि औपचारीक उद्घाटन हुन बाँकी छ । तर दिनप्रतिदिन सेवाग्राही भने बढ्दै गएको अस्पतालले जनाएको छ ।
सबै विशेषज्ञ स्वास्थ्य सेवा एकै ठाउँबाट दिने उदेश्यले अस्पलात संचालनमा ल्याईएको अस्पताल कार्यकारी निर्देशक तथा मानसिक रोग विशेषज्ञ डा.सुशिल समदर्शीले बताए । उनका अनुसार अस्पतालमा बालरोग विशेषज्ञ सेवा, हार्डजोर्नी तथा नसा रोग विशेषज्ञ सेवा, महिला तथा प्रसुति रोग, मानसिक रोग, जनरल फिजिसियन, जनरल तथा ल्याप्प्रोसकोपी सर्जरी, छाला र यौन तथा सौन्दर्य विशेषज्ञ सेवा उपलब्ध छन् ।
यस्तै नाक, कान, घाँटी, प्याथोलोजिष्ट, फिजियोथेरापी, दाँत, मुख तथा गिजा रोगको पनि अस्पतालमा उपचार हुनेछ । साथै अस्पतालले आधुनिक प्रविधियुक्त सिटी स्क्यान, भिडियो एक्स–रे, सादा एक्स–रे सेवा, आधुनिक ल्याव, भेन्टिलेटरसहितको आइसियू, एनआइसीयू, साना तथा ठूला सम्पूर्ण सल्यक्रिया सेवा दिनेछ ।
‘कर्णालीमै पहिलो पटक छुट्टै मनोरोग वार्ड स्थापना गर्ने तयारीमा छौं । जहाँ जटिल खालका मानसिक रोगका विरामीको उपचार हुनेछ’ डा. समदर्शीले भने, ‘जनरल तथा विशेष वार्ड रहेको अस्पतालले चौवीसै घण्टा इमरजेन्सी र फार्मेसी सेवा संचालन गर्नेछ ।’ कर्णालीका कमजोर आर्थिक अवस्था भएका नागरिकलाई मध्यनजर गरी सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिने उनको भनाइ छ ।
डा. समदर्शीका अनुसार अस्पतालले विमा र आमा सुरक्षा कार्यक्रम र स्वास्थ्य सम्वन्धी अध्ययन, अनुसन्धानको काम गर्नेछ । विशेषज्ञ सेवा लिन अब कर्णालीवासीले नेपालगंज, काठमाडौं, लखनउ लगाएत बाह्य ठाँउ जान नपर्ने अस्पतालले जनाएको छ । ‘कर्णालीमै कम खर्चमा स्तरीय सेवा दिने प्रयासमा छौं’ डा. शुसिल समदर्शीले भने, ‘चाँडै बिपीएच, बिएन, स्टाफनर्स र एचए अध्यापन कार्य समेत सुरु गर्ने तयारीमा छौं ।’