बेहुली लिन जाने दिनमा मलामी

एकै दिन दिदी भाइ एउटै मण्डपबाट बिहे गर्ने गरी कपिलवस्तुको बाणगंगा नगरपालिका ४ जितपुरमा केसी परिवारको घरमा रमाइलो माहोल थियो ।

साँझ बत्तीको झिलिमिलीले चिटिक्क देखिएको थियो । बिहेको तयारी गर्दै टेण्ट लगाएर सजाइएको माहोलमा एकाएक मौनता छायो । शनिवार बिहान भव्य तयारीका साथ जन्ती जाने साइत थियो तर परिवारका सबै सदस्य अचानक काठमाडौतर्फ लाग्नुपर्ने बाध्यता आयो ।

उहाँहरु काठमाडौं हिँडेपछि बिहेको तयारी एकाएक रोकिएको छ । बिहे घरमा लगाइएको टेन्ट उतारिएको छ । जन्ती जानेका मनमा पीडा थपिएको छ । बिहेको रमाइलो माहोल सुरु हुन लाग्दा लाग्दै गर्दा कोरोना सङ्क्रमण भइ काठमाडौं उपचारमा रहेका घरको सदस्य (काका)को मृत्यु भएपछि परिवार शोकमग्न भएको छ ।

वर्ष ५२ का मृतक जितपुरमा व्यव्साय गर्दै आउनुभएको थियो । दीर्घरोग र अन्य कुनै रोगको समस्या  थिएन ।
स्थानीयका अनुसार केसी परिवारको घरमा ठूली छोरी र भाइको एक पटक बिहेको तयारी भएको थियो । कोरोना सङ्क्रमित रहेका काकाको स्वास्थ्य अवस्थामा सुधार नभएपछि छोरीलाई शुक्रवार राती नै विवाह गरी दिएका थिए ।

शनिवार छोराको जन्ती जाने कार्यक्रम  थियो । तर बिहानै उपचारका क्रममा काठमाडौ)मा मृत्यु भएको खवरले जन्ती जानु अगाडि मृत्युको खवर आएपछि विवाहको काम रोकिएको छ ।
वाणगंगा नगरपालिकामा कोभिडको दोस्रो पटकको लहरले स्वस्थ, हट्टाकट्टा मानिसले ज्यान गुमाउनुपरेको छ । शनिवार बिहान निधन भएका केसीलाई दीर्घरोग र अन्य रोगको समस्या थिएन् । उहाँको अप्रत्याशित देहान्तले कोरोनाले स्वस्थ्य मानिसलाई पनी मृत्यु गराउन सक्ने रहेछ भन्ने तथ्य उजागर गरेको छ ।

सोही नगरपालिकाका वडा नं. ४ राजापानीमा होटेल संचालन गरेका ३० वर्षीय हट्टाकट्टा युवक पनि कोरोनाको कारणले ज्यान गुमाउने परेको थियो ।

#gorkhapatraonline