सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज प्रदेशसभाको सातौँ अधिवेशनमा विश्वासको मत लिनु हुनेभएको छ ।
दिउँसो २ बजे बस्ने प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत पहिलो बैठकमा सरकारले दुईवटा अध्यादेश टेबल गर्ने र विश्वासको मतसम्बन्धी प्रक्रिया अघि बढ्ने प्रदेशसभा सचिवालयले जनाएको छ।
नेकपा एमालेले सरकारलाई दिएको समर्थन गत चैत ५ गते फिर्ता लिएपछि मुख्यमन्त्री शाहीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानूनी बाध्यताका कारण आज विश्वासको मत लिन लाग्नुभएको हो।
३९ जना सदस्य रहेको कर्णाली प्रदेशसभामा बहुमतका लागि २० जनाको समर्थन चाहिन्छ।
हिजो बसेको माओवादीको संसदीय दलको बैठकले प्रदेशसभामा विश्वासको मत लिने र यसका लागि सबै दलहरुलाई विश्वासको मत दिन अपिल गर्ने निर्णय गरेको थियो।
प्रदेशसभामा माओवादीका १२ जना सांसदमात्रै छन्। कांग्रेसका ६ जना र राप्रपाका एकजना सांसद रहेको प्रदेशमा एमालेका सभामुखसहित २० जना सांसद रहेका छन्।