शैक्षिक भ्रमणमा गएका शिक्षकहरुमा कोरोना संक्रमण, विद्यालय बन्द

बुटवल—शैक्षिक भ्रमणमा गएका शिक्षकहरुमा कोरोना संक्रमण देखिएपछि बुटवलको एक सामुदायिक विद्यालय बन्द भएको छ । शिक्षकहरुमा कोरोना संक्रमण देखिएपछि बुटवलस्थित कालिका मानवज्ञान माविको पठनपाठन बन्द गरिएको हो । गतसाता सुदूरपश्चिमका विभिन्न स्थानको शैक्षिक भ्रमण गरेर फर्किएका विद्यालयका शिक्षकहरुमा कोरोना संक्रमण देखिएपछि विद्यालय बन्द गरिएको छ ।

विद्यार्थीहरुमा संक्रमण नहोस् भनेर विद्यालय बन्द गरी अनलाइन कक्षा संचालन गरिएको विद्यालयले जनाएको छ । संक्रमण नफैलियोस भनेर बैशाख २ गतेसम्मको लागि विद्यालयको पठनपाठन बन्द गरिएको छ । भ्रमणमा गएका शिक्षकहरुमध्ये ७ जनामा कोरोना संक्रमण देखिएपछि गत शुक्रबारदेखि विद्यालय बन्द छ ।

विद्यालयबाट प्रधानाध्यापकसहित करिब १ सय जना शिक्षकहरु शैक्षिक भ्रमणको लागि सुदूरपश्चिम गएका थिए । ती मध्ये ७ जनामा कोरोना संक्रमण पुष्टि भएको र अरु शिक्षकहरु पनि होम आइसोलेसनमा रहेको विद्यालयले छ । कालिका मावि यस क्षेत्रको ठूलो सामुदायिक विद्यालयअन्तर्गत पर्दछ ।