नेपालमा कोरोनाको दोस्रो लहर बढदै , अझ बढी सचेत हुनुपर्ने

कोरोना भाइरस (कोभिड–१९)को दोस्रो लहरसँगै सङ्क्रमण दरले पुनः गति लिन थालेको छ । दैनिक ४८ जनासम्म ओरालो झरेको सङ्क्रमणपछि पछिल्लो एक सातामा कोरोनाले गम्भीर बिरामी हुनेको सङ्ख्या बढ्न थालेको छ । केही दिनयता सङ्क्रमितको सङ्ख्या तीन सयभन्दा बढी देखिएको छ । विज्ञहरूले कोरोनाबाट जोगिन अझ बढी सचेत हुनुपर्ने बताउन थालेको छन् ।
भारतमा पछिल्ला दिनमा दैनिक एक लाख ५० हजारभन्दा बढी सङ्क्रमित हुँदा एक हजारको हाराहारीमा मृत्यु भइरहेको छ । नेपालमा पनि सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढ्नुले खतराको सङ्केत गरेको चिकित्सकहरूको भनाइ छ ।
नेपालमा पछिल्ला दिनमा सङ्क्रमण सङ्ख्या विस्तारै उकालो लाग्दै गएको छ । दैनिक सङ्क्रमण मात्रै होइन; सक्रिय सङ्क्रमित, आईसीयूमा भएका बिरामी र भेन्टिलेटरमा रहेका बिरामीको सङ्ख्या पनि बढेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभर थपिएका नयाँ सङ्क्रमितको सङ्ख्या ३६७ पुगेको जानकारी दिनुभयो । यसअघि शनिबार ३६३ जना सङ्क्रमित थपिएका थिए । मन्त्रालयका अनुसार देशमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ९६१ जना पुगेको छ । केही दिनअघि मात्र सक्रिय सङ्क्रमितको सङ्ख्या सात सयमा झरेको थियो । गत बुधबार सक्रिय सङ्क्रमित दुई हजार २०१ पुगेका थिए ।
डा. गौतमले नेपालमा सङ्क्रमितको सङ्ख्या मात्रै नथपिएको भन्दै गम्भीर प्रकृतिका बिरामी पनि बढ्दो क्रममा रहेको जानकारी दिनुभयो । एक साताअघि कोरोना सङ्क्रमणले गम्भीर अवस्थामा पुगेका ४७ जना आईसीयूमा र ११ जना भेन्टिलेटरमा रहेकामा सो सङ्ख्या बढेर आईसीयूमा पुग्ने सङ्क्रमितको सङ्ख्या ६५ र भेन्टिलेटरमा जानेको सङ्ख्या १३ पुगेको थियो । आइतबारको तथ्याङ्कअनुसार आईसीयूमा ८९ र भेन्टिलेटरमा १५ जना छन् ।
नेपालमा दोस्रो चरणको नयाँ भेरियन्ट आएको र युवा पुस्तालाई समेत गाह्रो पार्न थालेकाले पनि कोरोनाले थप चिन्ता बढाएको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउनुहुन्छ । टेकु अस्पतालका चिकित्सक डा. पुनका अनुसार थोरै लापरबाहीले मुलुकको भविष्य गम्भीर अवस्थामा पुग्न सक्ने बताउनुभयो । उहाँले कोरोना सङ्क्रमण नियन्त्रणमा आउन लाग्यो भनिरहेका बेला पुनः उचाइ लिन थालेकाले सचेत हुन आग्रह गर्नुभयो ।
पछिल्लो एक साताकै तथ्याङ्क हेर्ने हो भने कोरोनाकै कारण गम्भीर बिरामी हुनेको सङ्ख्या विस्तारै बढेको उहाँको भनाइ छ । दैनिक सङ्क्रमणसँगै सक्रिय सङ्क्रमित, आईसीयूमा भएका बिरामी र भेन्टिलेटरमा रहेका बिरामीको सङ्ख्या पनि बढ्दो क्रममा देखिएको छ ।

#gorkhapatraonline