कर्णालीका  तीन मन्त्रीको राजीनामा स्वीकृत

रिक्त मन्त्रालयको जिम्मेवारी केसी र भण्डारीलाई

सुर्खेत – कर्णालीका तीन मन्त्रीले दिएको राजीनामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले स्वीकृत गरेका छन् । यहीँ मंगलबार आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले दिइएको राजीनामा मुख्यमन्त्रीले आज स्वीकृत गरेका हुन् ।

राजिनामा स्वीकृतसँगै मुख्यमन्त्री शाहीले खाली रहेका मन्त्रालयको जिम्मेवारी आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीलाई दिएका छन् ।

मन्त्री भण्डारीलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिईएको मुख्यमन्त्री शाहीका राजनीतिक सल्लाहकार भीमप्रकाश शर्माले जानकारी दिए ।

भौतिक पूर्वाधार विकास मन्त्रालय र सामाजिक विकास मन्त्रालयको जिम्मेवारी मन्त्री केसीलाई दिइएको उनको भनाई छ । भौतिक पूर्वाधार मन्त्री रहेका खडक खत्रीलाई बैंकिङ कसुरसम्बन्धी मुद्दा लागेपछि मुख्यमन्त्री शाहीले २०७६ साउन ३० गते बर्खास्त गरेका गरेका थिए ।

त्यसयता उक्त मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीले आफैंसँग राख्नु भएको थियो । एमाले संसदीय दलको बैठकले चैत ४ गतेबाट लागू हुनेगरी माओवादी नेतृत्वका कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । मुख्यमन्त्री शाहीले भने संसदबाट विश्वासको मत लिने प्रक्रियामा जाने वा राजीनामा दिने भन्ने विषयमा हालसम्म कुनै निर्णय लिएका छैनन् ।