आगलागीबाट जाजरकोटमा पाँच घरमा क्षति


जाजरकोट : नलगाड नगरपालिका-८ मंसिरीमा आगलागीबाट पाँच घरमा क्षति भएको छ।

नौधारी जंगलमा लागेको डढेलो गाउँ पस्दा शनिबार राति पाँच घर जलेको हिमालय आधारभूत विद्यालयका शिक्षक मनोद शर्माले जानकारी दिए। उनका अनुसार अम्मरबहादुर सिंह, खड्क सिंह, वेदराज सिंह, चन्द्रबहादुर सिंह र यज्ञबहादुर सिंहको घर पूर्ण रुपमा क्षति भएको छ। घरमा रहेका लत्ताकपडा, भाँडाकुँडा समेत जलेको छन्।

घर जलेपछि पीडित परिवार खुला आकाशमा बसेका छन्। नलगाड नगरपालिकाको सबैभन्दा उच्च भाग र हावाहुरी अत्यधिक लाग्ने ठाउँ भएकाले आगो नियन्त्रण लिन नसकिएको प्रहरीले बताएको छ।