रुकुम – नेपाल पत्रकार महासंघको चुनाव नहुने एक मात्र जिल्ला रुकुम पूर्व बनेको छ । २०७४ सालमा साविक रुकुमबाट टुक्रिएको रुकुम पूर्वमा महासंघको शाखा गठन हुन नसकेपछि चुनाव नभएको हो । ‘२०७३ सालमा ७ औं जिल्ला अधिवेशन हुँदा साविकको रुकुम जिल्ला बाट पत्रकारिता गर्ने जम्मा ४ जना पत्रकार थिए’ रुकुम पश्चिमका पुराना पत्रकार हरि गौतमले भने, ‘२०७४ सालमा जिल्ला छुट्टिँदा पनि अवस्था उस्तै भयो । शाखा स्थापनाका लागि १९ जना नयाँ सदस्यता थप भएर आयो तर अहिलेको अधिवेशनको समय तालिका नजिक आइ सकेकोले त्यहाँ शाखा गठन हुन सकेन र पश्चिम रुकुमको शाखामा आएर मतदान गर्नुभयो ।’
पश्चिम रुकुम शाखामा ओली समूह , प्रेस सेन्टर र प्रेस युनियनसहितका संगठन चुनावी प्रतिस्पर्धामा रहेका थिए । प्रेस युनियनका लक्ष्मण केसी ६० मत प्राप्त गरि अध्यक्षमा निर्वाचित भएका छन् । तर उनका प्रत्यासी प्रेस सेन्टरका हरि गौतमले ४७ मत ल्याए ।
प्रेस युनियनबाट खुला उपाध्यक्षमा उठेका गोपाल रेग्मी ५९ मत ल्याएर निर्वाचित भए । महिला उपाध्यक्षमा प्रेस सेन्टरका सिजन बाठा मगर, सचिवमा ओली समूहका हिरा परियार विजयी भएका छन् । सहसचिवमा प्रेस सेन्टरका नारायण ओली, समावेशी सचिवमा पनि सेन्टरकै पवित्रा खड्का र कोषाध्यक्ष पनि प्रेस सेन्टरकै ज्ञानु गौतम निर्वाचित भएका छन् । अध्यक्ष र सचिवबाहेक पुरै प्यानल सेन्टरले जितेको छ ।
रुकुम पश्चिममा मात्रै सय जनाले सदस्यता पाएको र रुकुम पूर्वका नयाँ १९ र पुराना ३ सहित १ सय २२ जना मतदाताले निर्वाचनमा मत खसालेका छन् । जबकि यो भन्दा ठूलो जिल्ला रोल्पामा ८७ जनाले सदस्यता लिएको रोल्पाका निवर्तमान अध्यक्ष मानसिङ्ग विकले जानकारी दिए । प्युठानमा १ सय ४० जनाले सदस्यता लिए पनि १ सय ३० जनाले मात्र मतदान गरे । अर्घाखाँचीमा १ सय २६ जनामध्ये १ सय १६ जनाले मतदान गरे । उता ६३ जना सदस्य रहेको गुल्मी शाखामा भने ५८ जनाले मतदान गरेका छन् ।