माओवादी केन्द्रले कारबाही गरेका चार सांसद्को पद रिक्त हुँदै

काठमाडौं – प्रतिनिधिसभाको आजको बैठकमा नेकपा माओवादी केन्द्रले कारबाही गरेका चारजना सांसदको पद रिक्त भएको सूचना दिने तयारी सभामुख अग्नि प्रसाद सापकोटाले गर्नुभएको छ ।

संसद सचिवालय स्रोतका अनुसार राजनीतिक दल सम्बन्धी ऐनको आधारमा माओवादी केन्द्रले गरेको कारबाही तथा सूचनालाई आधार मानी सो जानकारी गराउन लागिएको हो । माओवादी केन्द्रले एमालेमा प्रवेश गरेका मन्त्रीहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई कारबाही गरेको निर्णय सचिवालयमा बुझाइसकेको छ ।

नेकपा विभाजनको बेला प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा लागेका यी नेताहरू सर्वोच्च अदालतले एमाले–माओवादीलाई पूर्ववत अवस्थामा फर्काएपछि पनि ओलीको साथ नछाड्ने भन्दै एमालेमा बसेका थिए । यसअघि माओवादी परित्याग गरेका लुम्विनीका दुई र कर्णालीका एकजना माओवादी सांसद पद रिक्त भइसकेको छ । माओवादीले गृहमन्त्री रामबहादुर थापाको राष्ट्रियसभा सदस्य पद पनि रिक्त गराउँदैछ ।