निर्मला पन्तको हत्याराको नजिक पुगेको नेपाल प्रहरीको दावी

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी किशोरी निर्मला पन्तको हत्याराको नजिक पुगेको नेपाल प्रहरीको दावी छ । घटनाको लगभग २ वर्ष ८ महिनापछि कन्चनपुर प्रहरी अहिले घटनामा संलग्न दोषी नजिक पुगेको दावी गरेको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक मुकेश सिंहका अनुसार अहिले घटनाको सूक्ष्म अध्ययन भइरहेको छ । कन्चनपुर प्रहरी अहिले सघन, सूक्ष्म, अध्ययन अनुसन्धान गरिरहेको छ । उहाँले भन्नुभयो, “प्रहरी, हत्याराको एकदम नजिक पुगिसकेकाले अबको केही दिनमै सार्वजनिक गर्नेछौँ ।”

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले २०७५ साल कार्तिक १५ गते प्रहरी प्रधान कार्यालयमा फाइबर जाँच गर्न सर्टको टुक्राको पठाएको थियो । तर त्यसको अहिलेसम्म जाँच गरिएको छैन । त्यसकारण घटनाको अनुसन्धानमा फेला परेको भनिएको महत्वपूर्ण ‘क्लु’ को वैधानिकता पुष्टि भएको छैन ।

२०७५ साल साउन ११ गते भीमदत्त नगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा निर्मला पन्तको शव बलात्कारपछि हत्या गरेको अवस्थामा फेला परेको थियो ।घटनाबारे विस्तृतमा अनुसन्धान गर्न काठमाडौंबाट गएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले भदौ २ गते दिलीपसिंह विष्टलाई पक्राउ गरेको थियो । ब्युरोबाट गएका प्रहरी वरिष्ठ उपरीक्षक (डीएसपी) अंगुर जीसीसँगको बयानका क्रममा दिलीपले घटनाको दिन आफूले लगाएको सर्ट र आकाशे नीलो रङको अन्डरवेयरबारे बयान दिएका थिए ।
कार्तिक १६ गते अपराध अनुसन्धान विभागले उक्त नमुनाका जाँचको प्रक्रिया अगाडि बढाउन तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको सचिवालयमा पठाएको थियो ।

चलानी नम्बर २००१ मा दुई खाममा रहेका नमुना सचिवालयमा पुगेको १२ दिनपछि २०७५ कार्तिक २८ गते गृह मन्त्रालयले नेपालमा फाइबर परीक्षणको सुविधा नरहेकाले सुविधा सम्पन्न फरेन्सिक ल्याबमा भारतीय राजदूतावासमार्फत् नमुना परीक्षणका लागि पहल गर्ने निर्णय गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले फाइबर जाँचका लागि अनुरोध गरेर नमुनासहित पत्र पठाएको लगभग ५ महिनापछि गत मंसिर १२ गते दिल्लीस्थित नेपाली दूतावासले उक्त फाइबर परीक्षण गर्न सकिने ल्याबको सूचना परराष्ट्र मन्त्रालयलाई दिएको थियो ।
२०७७ साल वैशाख ३ गते अपराध अनुसन्धान विभागले केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा सोही नमुनाबारे पत्राचार गरेको थियो । निर्माला पन्तको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले केही व्यक्तिलाई पक्राउ गर्दै बयान लिँदै छोडेको छ । प्रहरीले पन्तको हत्यारा नजिक पुगेको दावी गर्दै आए पनि अहिलेसम्म अन्तिम निष्कर्षमा पुगिनसकेको बताएको छ ।

#gorkhapatraonline