लागुऔषधविरुद्ध सचेतना अभियान थाल्यो जिल्ला प्रहरी कार्यालय जुम्लाले

जुम्ला- लागुऔषध सेवनका कारण कुनै पनि युवाको भविष्य नबिग्रियोस् भन्नका लागि जिल्ला प्रहरी कार्यालय जुम्लाले लागुऔषधविरुद्ध सचेतना अभियान थालेको छ।

उक्त अभियानमा जिल्ला प्रशासन कार्यालय, उच्च सरकारी वकिल कार्यालय जिल्ला सरकारी वकिल कार्यालयको साथ रहेको छ।
वकिल कार्यालयहले समुदायका सरकारी वकिल कार्यक्रम लिएर लागुऔषधविरुद्धको अभियानसंगै कानुनी ज्ञान प्रदान गरिरहेका छन्।

प्रहरीले विद्यालय, ट्युसन सेन्टर, समुदाय, टोल र बस्तीसम्मै पुगेर सचेतना गर्न थालेपछि स्थानीय उत्साहित बनेका छन ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी प्रहरी निरीक्षक युवनकुमार चौधरी का अनुसार बुधबार कर्णाली प्राविधिक शिक्षालयमा कार्यरत शिक्षक, शिक्षिका र विद्यार्थीहरुलाई सचेतना दिइएको र सरकारी वकिल कार्यालयले कानुनी ज्ञान समेत दिएको बताउनुभएको छ

उहाँले भन्नुभएको छ प्रहरी कार्यालय लागुऔषध दुर्व्यसनी, यसले स्वास्थ्य र समाजमा पार्ने नकरात्मक असरका बारेमा सचेत गर्छ। सरकारी वकिल कार्यालयले कानुनी ज्ञान दिन्छ कानुनी ज्ञान र सचेतना संगसंगै अघि बढाउँदा यो अभियान प्रभावकारी बनेको छ।

जुम्ला प्रहरी प्रमुख दानबहादुर थापा भन्नुहुन्छ पछिल्लो समयमा यहाँ लागुऔषध दुर्व्यसनीका क्रियाकलाप बढिरहेका छन्, सबै मिलेर लागुऔषधविरुद्धको अभियानमा जुटौँ। सभ्य र सुसंस्कृत समाज निर्माणमा सहभागी बनौँ।

जिल्ला सरकारी वकिल कार्यालय जुम्लाका निमित्त जिल्ला न्यायधिवक्ता श्यामहरी अधिकारीले मुलुकी अपराध संहिता २०७४ मा व्यवस्था भएको नयाँ कानुनी प्रावधानहरु तथा जबरजस्ती करणी कसुर बारेमा स्पष्ट पार्नुभएको छ। अधिकारी भन्नुहुन्छ स्पष्ट कानुनी ज्ञान नहुँदा अहिले अपराधिक क्रियाकलाप बढिरहेका छन् समुदायमा सरकारी वकिल कार्यक्रमबाटै कानुनी ज्ञान छर्ने कार्य भइरहेको छ।

यस्तै प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले विद्यार्थी, शिक्षक बीचमा सवालजवाफ गरेर स्पष्ट पार्दै भन्नुहुन्छ विद्यार्थी भविष्यका कर्णधार हुन्। देश निर्माण गर्ने कुशल जनशक्ति भएकाले लागुऔषध दुर्व्यसनीमा लाग्न नदिनको लागि गाउँ बस्ती टोलमा लागुऔषधविरुद्धको अभियानलाई साथ दिनुपर्छ।

साथै उहाँले कर्णाली प्राविधिक शिक्षालयमा कुनै पनि विकृति जन्य क्रियाकलाप नहुने विश्वास व्यक्त गर्नुभयो । सहभागीको सवालमा प्रमुख जिल्ला अधिकारी थापा, सह न्यायधिवक्ता गौतम र प्रहरी नायव उपरिक्षक थापाले सहजीकरण गर्नुभएको थियो

सचेतनामुलक कार्यक्रममा शिक्षालयका प्रिन्सीपल, शिक्षक, शिक्षिका, कर्मचारी, विद्यार्थी र चन्दनाथ नगपालिका ३ का जनप्रतिनिधिसहितको सहभागिता थियो।

प्राविधिक शिक्षालयका प्रिन्सीपल टेकेन्द्र थापाले लागुऔषधविरुद्धको सचेतना र कानुनी ज्ञानका विषयमा सचेतना फैलाउने कार्य निकै उदाहरणीय रहेको प्रतिक्रिया दिनुभयो