लन्डन – कोरोना महामारीको बढ्दो प्रभावका कारण उच्च जोखिममा रहेको भन्दै ३३ वटा ‘रेड लिष्ट’ मुलुकको सूचीमा परेको युरोपियन मुलुक पोर्चुगल उक्त सूचीबाट हट्ने भएको छ ।
यहि मार्च १९ शुक्रबार बिहान ४ बजेबाट हाल लागू हुने गरि ‘रेड लिष्ट’को सूचीबाट पोर्चुगललाई हटाइने बेलायतको यातायात विभागले जनाएको छ ।
शुक्रबारबाट इंग्ल्याण्ड आउने पोर्चुगलका यात्रुहरुले अनिवार्य होटल क्वारेन्टिन वापतको १७५० पाउण्ड बुझाउनु नपर्ने र घरमै क्वारेन्टिन बस्न सक्नेछन् ।
युरोपकै एकमात्र मुलुक पोर्चुगललाई गत फेब्रुअरी १५ बाट बेलायतले ‘रेड लिष्ट’ को सूचीमा राखेको थियो । तर, बेलायतले पोर्चुगलका डाइरेक्ट फ्लाइटलाई भने जनवरी १५ देखि नै प्रतिबन्ध लगाउँदै आएको थियो ।
पोर्चुगललाई बेलायतको ‘रेड लिष्ट’ बाट हटाउनको लागि विश्वस्त दिलाउन एक हप्तामा २४ हजारभन्दा बढी हस्ताक्षरसहितको निवेदन बेलायत सरकारसमक्ष पेश गरिएको थियो ।
कोरोना भाइरसका नयाँ ‘भेरियन्ट’ पाइएका मुख्यतया अफ्रिका तथा दक्षिण अमेरिका लगायत पोर्चुगल समेत गरि ३३ वटा मुलुकलाई रेड लिष्टमा राखेको थियो ।
कतार, ओमन र सोमालिया पनि ‘रेड लिष्ट’ मा
कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै बेलायत सरकारले यसअघि जारी गरेको ‘रेड लिष्ट’ को सूचीमा केहि मुलुकलाई हटाएको छ भने अन्य केहि मुलुकलाई थप गरेको गरेको छ ।
जसअनुसार ओमन, सोमालिया र कतारलाई भने बेलायतले ‘रेड लिष्ट’ को सूचीमा समावेश गर्ने भएको छ । कतार अन्तरराष्ट्रिय विमानस्थल विशेषगरि एशिया र अष्ट्रेलियाका मुलुकको कनेक्टिंग फ्लाइटको लागि लोकप्रिय मानिन्छ ।
‘रेड लिष्ट’ को सूचीमा कतार परेपछि नेपालबाट कतार हुँदै इंग्ल्याण्ड भित्रिने यात्रुहरुलाई समेत असर पर्ने देखिन्छ ।
‘रेड लिष्ट’ मुलुकबाट बेलायत फर्किएका यात्रुहरुले १० रातसम्म अनिवार्य होटल क्वारेन्टिन बस्नुपर्नेछ। होटल क्वारेन्टिन बस्दाको खर्च वापत १७५० पाउण्ड स्वयंले व्यहोर्नुपर्ने छ ।
यो नयाँ नियम लागू भएसँगै इथियोपिया,ओमन, सोमालिया र कतारबाट इंग्ल्याण्ड आउने ब्रिटिश र आइरिस बासिन्दा वा नागरिकहरुले सरकारद्वारा निर्धारित होटलमा १० दिन अनिवार्य क्वारेन्टाइन बस्नुपर्नेछ ।
यसबाहेक अन्य यात्रुहरुलाई भने प्रवेशमा रोक लगाइनेछ । स्कटल्याण्ड, वेल्स र नर्दर्न आएरल्याण्डले भने आफ्नो छुट्टै नियम लागू गर्नेछन् । होटेल क्वारेन्टिनबाट उन्मुक्ति पाउन आफ्नो यात्रा विवरणबारे झूटो बोलेको पाइएमा अधिकतम १० वर्षसम्मको कैद गरिने घोषणा गरिएको छ । त्यस्तै, ५ देखि १० हजार पाउन्डसम्मको जरिवाना पनि घोषणा भइसकेको छ ।