युवक हत्या आरोपमा चार जना नियन्त्रणमा

बैतडी – युवक हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । गत शनिबार बैतडी–दार्चुला सीमा भएर बग्ने चौलानी नदीमा मृत भेटिएका दार्चुलाको लेकम गाउँपालिका–१ सेजालीका ३५ वर्षीय रमेश कार्कीको हत्याको आशङ्कामा चार जनालाई नियन्त्रणमा लिइएको हो ।

अनुसन्धानकै क्रममा रहेकाले नियन्त्रणमा लिइएकाहरूको नाम खुलाउन नमिल्ने इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिए । उनले भने, “चार जनालाई सोधपुछका लागि नियन्त्रणमा राखेका छौँ, अनुसन्धान भइरहेको छ ।”

गत शुक्रबार गोकुलेश्वरस्थित शिवरात्रि मेला हेर्न गएका रमेश साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा शनिबार बेलुका चौलानी नदीको बीच भङ्गालोमा मृत भेटिएका थिए ।

कार्कीको टाउको, मुख, पेट, छाती, खुट्टामा चोट रहेकाले प्रहरीले हत्या भएको आशङ्का गरेको हो । मृतक कार्कीको शव गोकुलेश्वर अस्पतालमा रहेको छ । शव परीक्षण सम्पन्न भए पनि आफन्तले अझै शव बुझेका छैनन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *