१४ औं महाधिवेशनमा सभापतिबाहेक अरू पदमा उम्मेदवारी दिइदैन ; कांग्रेसका नेता शेखर कोइराला

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीको १४ औं महाधिवेशनमा आफूले सभापतिबाहेक अरू कुनै पनि पदमा उम्मेदवारी नदिने बताएका छन्।

कांग्रेसले भदौ ७ देखि महाधिवेशन गर्ने तयारी गरेको छ।

उनले खोटाङ पुगेर सभापति पदमा आफूले उम्मेदवारी दिने बताएका हुन्। यसबारे आफ्ना समर्थक र नेताहरुसँग छलफल भइरहेको कोइरालाले पत्रकारहरूलाई बताए।

कोइरालाले अहिले कांग्रेस भित्रको आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएकाले लिकमा ल्याउन आफूले सभापतिको दाबी गरेको बताए।

मुलुकमा विकसित राजनीतिक परिवेशको मुख्य जिम्मेवार प्रधानमन्त्री केपी शर्मा ओली रहेको उनको भनाइ थियो।

‘संसद् पुनःस्थापना भएपछि राजनीतिक दलको भूमिका मिल्न नसक्ने अवस्थामा पुगेको छ’, उनले भने, ‘वर्तमान परिवेशमा प्रतिनिधि सभा अनिर्णयको बन्दी भइरहनुपर्ने परिस्थिति सिर्जना भएकाले चुनावमा जानुको विकल्प छैन।’

कोइरालाले पछिल्लो राजनीतिक गतिरोध अन्त्यका लागि अब निर्वाचनको तयारीमा लाग्नुको विकल्प नभएकाले आवधिक वा मध्यावधि जुनसुकै भए पनि निर्वाचन हुन आवश्यक रहेको बताए।