काठमाडौं – विभागीय प्रतिद्वन्दी एपीएफलाई पराजित गर्दै नेपाल पुलिस क्लबले काठमाडौं मेयर्स कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा पुलिसका बलर चम्किएपछि एपीएफमाथि सहजै जित हात पारेको हो ।
युवा फास्ट बलर गुल्सन झा र सागर ढकाले ४(४ विकेट लिएपछि एपीएफले १०५ रनमै अलआउट भएको थियो । जवाफमा पुलिसले २४।१ ओभर खेल्दै २ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो । पुलिसका लागि ओपनर सुनिल धमलाले अर्धशतक बनाए । दिपेन्द्र सिंह ऐरीले २५औं ओभरको पहिलो बलमा अभिनाश बोहरालाई छक्का प्रहार गर्दै जित निश्चित गरेका थिए ।
काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा नेपाल क्रिकेट संघले आयोजना गरेको पहिलो संस्करणको मेयर्स कप जित्दै पुलिसले नगद ५ लाख रुपैयाँ हात पार्यो । उपविजेता एपीएफले ३ लाख पायो । पुलिसले फाइनल जित्दै लिग चरणमा व्यहोरेको हारको बदला समेत लिएको छ ।
पुलिसले गत वर्ष तेस्रो संस्करणको प्रधानमन्त्री कप क्रिकेटको उपाधि जितेयता पहिलो पटक ५० ओभरको क्रिकेटको उपाधि जितेको हो । उता एपीएफले भने लगातार दुईवटा एकदिवसीय क्रिकेटमा उपविजेतामै चित्त बुझाउनुपर्यो । माघमा भएको प्रधानमन्त्री कपको फाइनलमा एपीएफ त्रिभुवन आर्मीसँग पराजित भएको थियो ।
एपीएफको दिएको समान लक्ष्य पछ्याएको पुलिसका लागि सुनिल धमला र कुशल भुर्तेलले ३३ रनको साझेदारी गरेका थिए । कुशल ११औं ओभरमा भुवन कार्कीको बलमा बोल्ड भए । कुशलले १५ रन जोडे ।
यस्तै दोस्रो विकेटका लागि सुनिल र अनिल शाहले ३५ रनको साझेदारी गरे । अनिल १५ रन बनाएर आउट भए । ओपनर सुनिलले अविजित रहँदै ५९ रन बनाए । उनले ८२ बल खेल्दै ७ चौका र २ छक्का प्रहार गरे ।
एपीएफका लागि भुवन कार्की र अभिनाश बोहराले १(१ विकेट लिए ।
त्यसअघि टीयू क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले २९।४ ओभरमा सबै विकेट गुमाएर १०५ रन बनाएको थियो ।
एपीएफका लागि वसन्त रेग्मीले बनाएको २२ रन नै व्यक्तिगत उच्च स्कोर रह्यो । यस्तै सन्दीप जोरा र अमर राउटेलाले १८(१८, भुवन कार्कीले १४ र अभिनाश बोहराले १२ बनाए । यसबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
टस जितेर पहिले ब्याटिङ रोजेको एपीएफले सुरुवाती तीन ओभरमा लगातार विकेट गुमायो । पहिलो ओभरमा शंकर राना ४ रन बनाएर आउट भए । अर्का ओपनर आसिफ शेख खाता नखोली दोस्रो ओभरको तेस्रो बलमा आउट भए । तेस्रो ओभरमा कप्तान शरद भेषावकर पनि खाता नखोली आउट भएपछि एपीएफले १० रन हुँदा ३ विकेट गुमायो ।
त्यसपछि भुवन कार्की र सन्दीप जोराले इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए । तर ३२ रनको साझेदारीपछि भुवन कार्की नवौं ओभरमा आउट भए । भुवनलाई गुल्झन झाले विकेटकिपर दिलिप नाथबाट क्याचआउट गराए ।
१३औं ओभरको पहिलो बलमै ललित राजवंशीले सन्दीपलाई एलबीडब्लु गरेपछि एपीएफले ४७ रनमा ५ विकेट गुमायो ।
एपीएफको विकेट जाने सिलसिला रोकिएन । २०औं ओभरमा सुमित महर्जन ४ रनको व्यक्तिगत स्कोरमा आउट भए । त्यसपछि सातौं विकेटका लागि अमर राउटेला र वसन्त रेग्मीले ३० रनको साझेदारी गर्दै इनिङ्स उकास्ने प्रयास गरेका थिए । तर २८औं ओभरमा अमर १८ रन बनाए रसागर ढकालको बलमा बोल्ड हुँदा एपीएफले सातौं विकेट गुमायो । वसन्त रेग्मी पनि त्यही ओभरमा एलबीडब्लु धरापमा परे ।
वसन्त आउट हुँदा एपीएफको अवस्था ९२(८ थियो । लगत्तै अर्को ओभरमा स्कोर ९२ रन नै हुँदा कमल ऐरी गुल्सन झाको बलमा अनिल शाहद्वरा क्याचआउट भएपछि एपीएफले नवौ विकेट गुमायो ।
अर्को ओभरमा अभिनाश बोहरा १२ रन बनाएर सागर ढकालको बलमा गुल्सन झाद्वारा क्याचआउट भए ।
एपीएफलाई सामान्य स्कोरमा अलआउट गर्न पुलिसका सागर ढकाल र गुल्सन झाले समान ४ विकेट लिए । सागरले ७।४ ओभर बलिङ गर्दै २८ रन मात्र खर्चिए । ७ ओभर नै बलिङ गरेका गुल्सनले ३६ रन खर्चिए । यस्तै पवन सर्राफ र ललति राजवंशीले किफायती बलिङ गर्दै समान १ विकेट लिए । पवनले ७ ओभरमा मेडन राख्दै २० रन खर्चिए भने ललितले ५ ओभरमा २ मेडन राख्दै जम्मा १० रन खर्चिए ।