पार्टी छाडेर गएका नेतामाथि निर्णय गर्न माओवादी केन्द्रको स्थायी कमिटि बैठक बस्दै

पार्टी छाडेर एमालेको केपी ओली समूहमा गएका नेतामाथि निर्णय गर्न माओवादी केन्द्रको स्थायी कमिटि बैठक बस्दैछ।

पछिल्लो राजनीतिक अवस्था, सत्तासमीकरण र पार्टी छाडेर हिँडेका नेताका विषयमा छलफल गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार स्थायी कमिटी बैठक बोलाएको एक सदस्यले जानकारी दिए।

बैठक ९ बजेपछि पेरिसडाँडामा बस्दैछ।

सर्वोच्चको फैसलाले एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि माओवादी केन्द्रका नेताहरू रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द्र थापा, प्रभु साह, गौरीशंकर थारू, टंक आङबुहाङ, दधिराम न्यौपाने, दिनेश पन्थी, धर्मराज रेग्मी, दावा लामा र चन्द्रबहादुर खड्कालगायत नेता एमालेमै क्रियाशील भएका छन्।

आजको बैठकमा पार्टी छाडेर हिँड्नेमाथि के गर्ने भन्ने विषयमा प्रक्रिया अगाडि बढाइने ती नेताले बताए। ‘पार्टी छाडेर हिँड्नेलाई यथाशीघ्र घर फर्कन भन्छौँ । उहाँहरूले मान्नुभएन भने पार्टी विधानअनुसार अगाडि बढ्नेछौं। यसको निर्णय आजको बैठकले गर्नेछ’, ती सदस्यले भने।

एमालेले संकटका वेला पार्टी एकता र नेतृत्वको रक्षाका लागि दृढतापूर्वक उभिएको भन्दै पूर्वमाओवादी समूहका २३ जनालाई ओली समूहले केन्द्रीय सदस्य बनाउँदै विभिन्न जिम्मेवारीसमेत दिएको छ।

यस्तै सर्वोच्चले नेकपाको एकता बदर हुने गरी फैसला दिएपछि माओवादी केन्द्रले पार्टीको नाम परिवर्तन गर्ने गृहकार्य पनि सुरू गरेको छ।

#सेतोपाटी