घुमाउरो भाषाबाट प्रधानमन्त्रीका लागि प्रस्ताव गरे प्रधानमन्त्री ओलीले जसपाका नेता ठाकुरलाई

जनता समाजवादी पार्टीले अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्न आन्तरिक छलफल सुरु भएको छ ।

शुक्रबार बसेको जसपाको संयुक्त संसदीय दलको बैठकमा बोल्ने सांसदमध्ये आधाजसोले यसपटक जसपा आफैंले सरकारको नेतृत्व दाबी गर्नुपर्ने सुझाव राखेका थिए । सरकारको नेतृत्व गर्ने अवसर आएमा जसपाले ठाकुरलाई अघि सार्ने पार्टीका नेताहरूले जनाएका छन् ।

शुक्रबार बसेको संसदीय दल बैठकको अध्यक्षता ठाकुरले गरेका थिए । यद्यपि जसपाले अझै संसदीय दलको नेता चयन गर्न भने सकेको छैन । दलको नेता चयन नभएसम्म ठाकुरले बैठकको अध्यक्षता गर्ने सहमति भएको जसपाका नेताहरूले जनाएका छन् ।

दलको बैठकमा शरत्सिंह भण्डारी, महेन्द्र यादव, प्रदीप यादवलगायतले यसपटक पार्टी आफैं सरकारको नेतृत्व गर्न तयार हुनुपर्ने धारणा राखेका थिए । ‘हामी विभिन्न विकल्पमा छलफल गरिरहेका छौं ।

सरकारको नेतृत्व गर्न पनि हामी तयार हुनुपर्छ भन्ने सुझाव धेरै साथीबाट आएको छ’, बैठकपछि नेता भण्डारीले भने, ‘यसबारेमा पार्टीभित्र आन्तरिक छलफल प्रारम्भ भएको छ ।’ यस्तै धारणा जसपाका अर्का सांसद प्रदीप यादवले पनि राखे । यसपटक जसपाले सरकारको नेतृत्व दाबी गर्ने उनले बताए ।

‘हामीले अहिलेसम्म अरुलाई सहयोग गर्‍यौं । यसपटक हामी आफैंले सरकारको नेतृत्व लिनुपर्छ भन्ने सुझाव पार्टीभित्र बलियो भएको छ’, यादवले भने ।

स्रोतका अनुसार बैठकमा जसपा संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराईले भने पार्टी सरकारमा जान नहुने सुझाव राखेका थिए । उनले सरकारमा जानुभन्दा पनि पार्टीका मुद्दालाई प्राथमिकता दिनुपर्ने बताए ।

प्रमुख सचेतक उमाशंकर अरगरैयाले संसदीय दलको बैठकमा विभिन्न अजेन्डामा छलफल भएको बताए । ‘साथीहरूले विभिन्न धारणा राख्नुभयो । सरकारको नेतृत्व गर्ने विषयमा पनि कुरा उठेको छ’, उनले भने ।

एक वर्षअघि राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच एकीकरण भई जसपा गठन भए पनि दुवै पार्टीका संसदीय दल अझै अलगअलग छन् । शुक्रबार दुवै पार्टीको संयुक्त संसदीय दलको बैठक बोलाइएको थियो । दलको बैठक बस्नुअघि जसपाका शीर्ष नेताहरूले छलफल गरेका थिए ।

जसपाका नेताहरूले बिहीबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका थिए । प्रधानमन्त्री ओलीसँगको भेटपछि जसपाले सरकारको नेतृत्वको विषयमा आन्तरिक छलफल सुरु गरेको हो । ठाकुरनिकटका जसपा नेता डा.सुरेन्द्र झाले भेटमा प्रधानमन्त्री ओलीले ठाकुरलाई घुमाउरो भाषाबाट प्रधानमन्त्रीका लागि प्रस्ताव गरेको बताए ।

#नागरिक दैनिक