एमाले एकताबद्ध बनाउन ओली गम्भीर नदेखिएको नेपाल समूहको निष्कर्ष

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीइतर नेताहरूले सर्वोच्चको निर्णयले कम्युनिस्ट आन्दोलन भत्काएको भन्दै एमाले बलियो बनाउनुपर्ने निष्कर्ष निकालेका छन्।

नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठकपछि नेता भीम रावलले भने, ‘सर्वोच्चको फैसलापछि उत्पन्न भएको विषयमा हामीले कसरी अगाडि जाने भन्ने विषयमा छलफल भएको छ। उहाँहरूले अहिलेसम्म बैठक बोलाउनुभएको छैन। हामीले त्यही बैठकको प्रतीक्षा गरिरहेका छौँ।’

सर्वोच्चको आश्चर्यको निर्णय गरेपछि विधि र पद्धतिबाट कसरी अगाडि बढ्नुपर्ने निष्कर्ष निकालेको उनले बताए।

‘उहाँहरूले बैठक नबोलाएपछि नेकपाको एकताको समेत एकताको चिन्ता भएको छ। कतिपय ठाउँमा गुण्डागर्दीसमेत भएको छ। दुई ठूला कम्युनिस्ट पार्टीहरूलाई एकताबद्ध हुनुपर्छ भनेर लागिरहेका छौँ’ उनले भने, ‘पार्टीको औपचारिक बैठक नबोलाएकाले अनौपचारिक रूपमा छलफल गरेका हौँ। अध्यक्षले अहिलेसम्म बैठक बोलाइसक्नुपर्ने हो।’

कम्युनिस्ट आन्दोलन भत्काएको भए पनि अब एमालेभित्र बलियो बनाउनेबारे छलफल भएको बताए।

‘माओवादी नेताहरूलाई प्रदेश इन्चार्ज गरिरहेका छन्। त्यसैले हामीले त्यस्तो गुटगत गतिविधि रोक्नुपर्छ। नेकपा एमाले अदालतले मात्रै होइन, साँच्चिकै जीवित राख्न चाहन्छौँ’ उनले भने, ‘जनताको सामु साझा घोषणा जारी गरेर एकीकृत रूपमा सरकार चलाएर जाने भनेर प्रतिबद्धता गरेका छौँ। सर्वोच्चको फैसला मानेका छौँ। तर, त्यसमा असहमति छ।’

उनीहरूले दुई कम्युनिस्ट पार्टीको सरकार चाहेका बताए। ‘कम्युनिस्ट सरकार चाहेका छौँ। तर, व्यक्तिको भन्नेमा एमालेको बैठक बसेर निर्णय गर्नुपर्छ’ उनले भने।

विगतका कमी कमजोरीलाई औंल्याएर अघि बढ्नुपर्ने बताए। उनले नेकपा एमाले विभाजनको कल्पनासमेत गर्न नसक्ने तर्क गरे।