काठमाडौं – अष्ट्रेलियाविरुद्धको टी–२० सिरिज न्युजिल्याण्डले जितेको छ।
पाँच खेलको सिरिजमा निर्णायक रहेको अन्तिम खेलमा घरेलु टोली न्युजिल्याण्डले अष्ट्रेलियालाई सात विकेटले पराजित गरेको हो। अष्ट्रेलियाले जितका लागि दिएको १४३ रनको लक्ष्य न्युजिल्याण्डले १५ दशमलव ३ ओभरमा तीन विकेटको क्षतिमा सहजै भेट्टायो। न्युजिल्याण्डका मार्टिन गप्टिलले सर्वाधिक ७१ रन बनाए। यस्तै डेभोन कोनवेले ३६ रन बनाए। ग्लिन फिलिप्सले अविजित १६ बलमा ३४ रन जोडे र आफ्नो टोलीलाई सिरिज दिलाए। अष्ट्रेलियाका रिले मेरिथले दुई विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४२ रन जोडेको थियो। उसका लागि म्याथ्यु वेडले सर्वाधिक ४४ रन जोड्दा कप्तान आरोन फिन्चले ३६ रन बनाएका थिए। अष्ट्रेलियालाई मध्यम स्कोरमा रोक्ने क्रममा सोधीले तीन तथा बोल्ट र साउथीले समान दुईरदुई विकेट लिए।
पाँच खेलको सिरिजमा यसअघिका खेल अष्ट्रेलिया र न्युजिल्याण्डले समान दुई–दुई जितेका थिए।सिरिजको पहिलो र दोस्रो खेल न्युजिल्याण्डले क्रमशः ५३ र ४ रनले जितेको थियो।
त्यसपछिका दुई खेल अष्ट्रेलियाले ६४ र ५० रनले जितेको थियो।