कोभ्याक्स संयन्त्रबाट प्राप्त हुने खोप आज आउँदै, आजदेखि ज्येष्ठ नागरिकलाई पनि खोप

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका स्वास्थ्य सचिव लक्ष्मण अर्यालले कोभ्याक्स संयन्त्रबाट प्राप्त हुने तीन लाख ४८ हजार खोप आज नेपाल आउन थालेको जानकारी दिए । सरकारले कोभ्याक्स संयन्त्रमार्फत एक करोड ३० लाख खोप ल्याउने तयारी गरेको छ ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनमा कोभ्याक्समार्फत बर्मा, श्रीलङ्का र नेपालले मात्र खोप पाउने भएका छन् । यस्तै सचिव अर्यालले भारतको सेरम इन्स्टिच्युट कम्पनीसँग खरीद गरेको खोप पनि एक हप्ताभित्र आउने बताए । उनले आजदेखि शुरु हुने खोप १५ हिमाली जिल्लाका ५५ वर्षभन्दा माथि र बाँकी अन्य जिल्लाका ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई लगाइने बताए ।

करीब ६ हजार खोप केन्द्रबाट प्रत्येक दिन दुई लाखका दरले खोप प्रदान गरिने उनको भनाइ छ । उनले असार १५ गतेसम्म ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई पहिलो र दोस्रो मात्राको खोप लगाइसक्ने तयारी रहेको समेत जानकारी दिए ।

सरकारले आजदेखि दोस्रो चरणको खोप अभियानअन्तर्गत ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप लगाउन थालेको छ । २० दिनसम्म चल्ने खोप अभियानमा १६ हजार ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिँदैछ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना भाइरसले आक्रमण नगर्ने भएकाले सबैलाई खोप लगाउन आग्रह गरे । यसअघि पहिलो चरणको खोप अभियानअन्तर्गत चार लाख २९ हजारले खोप लगाएका थिए । पहिलो चरण गत माघ १४ देखि फागुन १० गतेसम्म सञ्चालन भएको थियो ।

मन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ विरुद्धको खोप सबै जनताको पहुँचमा पु(याउने प्रयास भइरहेको बताएका छन् । उनले सबै जनतालाई खोप उपलब्धता जटिल भए पनि विभिन्न माध्यमबाट खोप खरीद गरी पु¥याउने प्रयास भइरहेको बताउनुभयो । “सबै देशले आफ्ना जनतालाई खोप लगाउँदैछन् । खोपको माग र उत्पादन अवस्था हेर्दा नेपाली सबैलाई खोप पु(याउने जटिल छ”, उनले भने, “तर हामीले विभिन्न माध्यमबाट खोप ल्याएर सबै जनतालाई पु¥याउने प्रयासमा छौँ ।”

सरकारले कूल जनसङ्ख्याको ७२ प्रतिशतलाई खोप उपलब्ध गराउने लक्ष्य लिएको छ । पहिलो चरणअन्तर्गत १।४ प्रतिशतलाई खोप प्रदान गरेको छ । मन्त्री त्रिपाठीले भारतमा उत्पादन भएको कोभिशिल्ड खोपको ५० लाख मात्रा किन्ने प्रक्रियासमेत शुरु भइसकेको जानकारी दिए । यसअघि सरकारले भारत सरकारको अनुदानमा १० लाख मात्रा खोप र खरीद गरेको १० लाख मात्रा खोप आइसकेको छ भने १० लाख मात्रा खोप भारतबाट आउने प्रक्रियामा रहेको छ। ratopati