काठमाडौं – विभागीय टिम एपीएफ क्लबले पहिलो संस्करणको काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
टियु क्रिकेट मैदानमा शनिबार त्रिभुवन आर्मी क्लबलाई १ विकेटले पराजित गर्दै एपीएफले सुखद सुरुवात गरेको हो । आर्मीले दिएको २ सय ३६ रनको लक्ष्य एपीएफले ४९ ओभर ४ बलमा ९ विकेट गुमाएर पुरा गर्यो । एपीएफको जितमा सुमित महर्जनले ६० रनको अर्धशतकीय इनिङ्स खेले । आर्मीका बिक्रम सोबले तीन विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा अलआउट हुँदै २ सय ३५ रन बनाएको थियो । आर्मीका लागि रोहित पौडेलले ५६ रनको अर्धशतकीय इनिङ्स खेले । एपीएफका लागि अविनास बोहोराले ३ विकेट लिए ।
जितसँगै एपीएफले गत महिना प्रधानमन्त्री कपमा आर्मीसँग व्यहोरेको हारको बदला लिएको हो । जितसँगै एपीएफले पहिलो खेलमा २ अंक जोडेको छ । आर्मीले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
प्रतियोगितामा ५ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टिमले उपाधिको लागि खेल्नेछन् । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख पाउने छन् ।