विदेशी एयरलाइन्सहरूले नेपाली आकाशमा उडान गर्दा अबदेखि इन्टरनेट सुविधा प्रयोग गर्न पाउने भएका छन् ।
नेपाल दूरसञ्चार प्राधिकरणले १० हजार फिटमाथिको नेपाली आकाशमा विदेशी जहाजहरूले इन्टरनेट प्रयोग गर्न पाउने गरी खुला गर्ने तयारी गरेकोे हो ।
प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणको सहमति प्राप्त विदेशी एयरलाइन्सले आफ्ना यात्रुलाई यस्तो सुविधा उपलब्ध गराउन सक्नेछन् ।
“उड्ययन प्राधिकरणबाट सहमति ल्याउने विदेशी एयरलाइन्सलाई हामी ‘नो अब्जेक्सन’ दिन्छौँ”, उहाँले भन्नुभयो ।
विदेशी जहाजमा इन्टरनेट प्रयोग गर्न पाउने सेवासम्बन्धी प्रस्ताव यति बेला प्राधिकरणको बोर्डमा प्रस्तावित छ ।
बोर्डबाट उक्त प्रस्ताव पारित हुनासाथ जहाजमा इन्टरनेट प्रयोग गर्न पाउने सुविधा खुला हुनेछ । “अब छिटै यस्तो सुविधा दिने गरी तयारी भइरहेको छ”, उहाँले भन्नुभयो । यो प्रक्रियामा प्राधिकरणको भूमिका ‘नो अब्जेक्सन’ दिनेमा हुनेछ ।
अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्गठन आइकाओले जहाजभित्र मोबाइल प्रयोगलाई अत्यावश्यकीय अवस्थाका रूपमा व्याख्या गर्दै डेढ दशकअघि नै यसलाई खुला गर्न सकिने गरी निर्णय गरेको थियो।
आइकाओको उक्त व्यवस्थाअनुसार विश्वका कतिपय देशले उडानभित्रै इन्टरनेट तथा फोन गर्न सक्ने सुविधा उपलब्ध गराइरहेका छन् ।
छिमेकी देश भारतले पनि सन् २०१८ डिसेम्बरमा भारतीय आकाशमा विदेशी तथा भारतीय जहाजहरूले इन्टरनेट तथा फोन कल गर्न सक्ने सुविधा खुला गरेको थियो ।
त्यस्तै कतार एयरलाइन्स, सिङ्गापुर एयरलाइन्स, इत्तिहादलगायत नेपालमा उडान सेवा उपलब्ध गराइरहेका ठूला जहाज कम्पनीहरूले पनि यस्तो सुविधा उपलब्ध गराइरहेका छन् ।
यद्यपि नेपाली आकाशमा इन्टरनेट प्रयोग गर्न पाउने व्यवस्था नभएकाले अहिलेसम्म त्यस्ता एयरलाइन्सले यो सुविधा उपलब्ध गराउन पाएका छैनन् ।
एयरलाइन्स कम्पनीले जहाजमै इन्टरनेट सुविधा उपलब्ध गराउन इन्टरनेट सेवा प्रदायकसँग यस्तो सुविधा लिनुपर्ने हुन्छ । अहिले विश्वभर आधा दर्जन यस्ता सेवा प्रदायकले जहाजमा इन्टरनेट सुविधा उपलब्ध गराइरहेका छन् ।
रो ४४, भायास्याट, गोगो इन्टरनेट, अनएयरलगायत कम्पनीले जहाजमै वाइफाई तथा एसएमएस सुविधा उपलब्ध गराएका छन् ।
नेपाली आकाशमा इन्टरनेट उपलब्ध गराउने भए पनि यो नेपालका इन्टरनेट सेवा प्रदायकसँग भने सम्बन्धित छैन ।
विदेशी एयरलाइन्सका लागि यो सुविधा उपयोगी भए पनि नेपालका आन्तरिक वायुसेवा प्रदायकलाई भने त्यति उपयोगी नहुने नेपाल वायुसेवा निगमका क्याप्टेन श्रवण रिजाल बताउनुहुन्छ।
आन्तरिक वायुसेवाहरूको हवाई दूरी नै छोटो हुँदा १० हजार फिटमाथि उडान गर्ने समय कम हुने भएकाले यो त्यति उपयोगी नदेखिने उहाँले बताउनुभयो ।
लामो दूरीका हवाई उडान तय गर्ने एयरलाइन्सले आफ्ना यात्रुलाई सुविधा दिन भने यो निकै उपयोगी हुने उहाँले बताउनुभयो ।
दूरसञ्चार प्राधिकरणका अनुसार नेपाली आकाशमा प्रवेश गर्ने र नेपाली आकाश हुँदै बाहिरिने अवस्थामा नेपालको सीमाभित्र एयरलाइन्सहरूले इन्टरनेट उपयोग गर्न सक्नेछन् ।
१० हजार फिटभन्दा कम उचाइमा जहाज उडान र अवतरणको तयारी चरणमा रहने र उक्त उचाइभन्दा कम अवस्थामा इन्टरनेट उपलब्ध गराउँदा स्थानीय दूरसञ्चार सेवा प्रदायकहरूको सेवामा असर पार्न सक्ने भएकाले यो उचाइ कायम गरिएको प्राधिकरणले जनाएको छ । -gorkhapatr