सिन्धुली – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताका अब दुख र कष्टका दिन गइसकेको बताएका छन् । बिहीबार सिन्धुलीको कुुसुमटारमा सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारले विकासको लहर ल्याएको भन्दै अब नेपाली जनताका दुःख कष्टका दिन गइसकेको बताएका हुन् ।
‘अब हिजोको जस्तो नेपाली जनताका दुख, कष्टका दिन गए । सरकारले बहुआयामिक उद्देश्यका आयोजनाहरु बनाउँदै गएको छ । अरु पनि ल्याउदै जानेछ’, प्रधानमन्त्री ओलीको भनाइ छ ।
उनले सरकारले अघि सारेका विकासका आयोजनाहरुलाई कोभिड १९ का कारण प्रभाव पारेपनि त्यसलाई परास्त गर्दै अव विकासको गति नरोकिने दावी गरे ।
सो क्रममा प्रधानमन्त्री ओलीले सुनकोशी–मरिन डाइभर्सन आयोजनका मुख्य २ वटा उदेश्य रहेपनि यो बहुआयामीक आयोजना भएको प्रस्ट पारे । उनले आयोजनाबाट बारादेखि धनुषासम्मको १ लाख ८५ विघाहा जमिन सिंचाई हुने तथा ३१ मेगावाट विद्युत उत्पादन गर्ने आयोजना सम्पन्न भएपछि २ नम्बर प्रदेशका जिल्लाहरुमा पुग्ने सिंचाइले तराई हरियाली र बगैँचाका रुपमा विकसित हुने बताए ।