पीसीएल खेल्न पाकिस्तान पुगेका सन्दीपले आइपीएललाई चुनौती देलान्‌‌ ?

काठमाडौं – नेपाली लेग स्पीनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पीएसएल) खेल्नका लागि पाकिस्तान पुगेका छन्‌।

जारी सिजनमा दिल्ली क्यापिटल्सले रिलिज गरेपछि भएको अक्सनमा आइपीएलमा अनुबन्ध हुन नसकेका सन्दीपले पछिल्लो समय थप मिहिनेतसाथ आफूलाई प्रमाणित गर्ने संकल्प लिएका छन्।

रसिद खानले छोडेसँगै पीएसएलमा अवसर पाएका सन्दीप अन्तिम ११ मा स्थान बनाउन सके पुन: एकपटक आफ्नो भूमिका देखाउन पाउनेमा विश्वस्त छन्।

पाकिस्तानमा लाहोर क्वालन्डर्समा आवद्ध रहेका सन्दीपले तीनदिने क्वारेन्टिन मंगलबार पूरा गरे। संभवत: उनी बिहीबार इस्लामाबाद युनाइटेड विरुद्धको खेलमा टीममा सहभागी हुनेछन्।

रसिद खानले अफगानिस्तानको राष्ट्रिय टोलीबाट खेल्नुपर्ने भएपछि उनको स्थानमा क्वालन्डर्सले सन्दीपलाई भित्र्याएको हो। यसअघि उनी तीन सिजन आइपीएलमा रहे।

विश्वका धेरै व्यवसायिक क्रिकेट प्रतियोगितामा नियमित स्थान बनाउँदै आएका सन्दीप आइपीएलमा यो सिजन नरहेसँगै उनको भविष्यलाई लिएर अनेक अनुमानहरू लगाउन थालिएको छ।

मंगलबार क्वारेन्टाइन पूरा भएसँगै सन्दीपले ‘गतिलो बदला भनेको आफैंलाई सुधार गर्नु हो’ भन्दै ट्वीट गरे। उनी अवसर पाएमा आफूलाई फरक देखाउने प्रयासमा छन्।

दिल्लीले प्लेइङ सेटमा नराख्दा पनि उनले अप्रत्यक्ष रूपमा सामाजिक सञ्जालमा असन्तुष्टिहरू सार्वजानिक गर्ने गरेका थिए। यो पटक अक्सनमा कुनैपनि टीमले उनलाई अनुबन्धन नगरेसँगै आफूलाई सुधारेर पुन: छनोट हुने स्तरमा पुर्‍याउने प्रयास गर्ने बताउँदै आएका छन्।