नेपाली राष्ट्रिय टिमका चार महिला खेलाडीले पाकिस्तानमा लिग फुटबल खेल्ने

नेपाली राष्ट्रिय टिमका चार महिला खेलाडीले पाकिस्तानमा लिग फुटबल खेल्ने भएका छन्।

गोलरक्षक एन्जिला तुम्बापोसहित डिफेन्डर गीता राना, मिडफिल्डर सरु लिम्बु र स्ट्राइकर अनिता केसीले पाकिस्तानमा १३औं संस्करणको ‘नेसनल वुमेन्स फुटबल च्याम्पियनसिप’ खेल्ने भएका हुन्। उनीहरु सशस्त्र प्रहरी बलको एपिएफ क्लबका हुन्।

उनीहरुलाई खेल्न जानका लागि अखिल नेपाल फुटबल संघ एन्फाले स्वीकृति पत्र दिइसकेको छ। पाकिस्तानको मासा युनाइटेड एफसीबाट खेल्न उनीहरु बिहीबार त्यसतर्फ प्रस्थान गर्ने तयारीमा रहेका छन।

मार्च महिनाकाे ८ देखि अप्रिल महिनाकाे  ३ सम्म हुने प्रतियोगितामा २० टिमले प्रतिस्पर्धा गर्ने तालिका पाकिस्तानी फुटबल महासंघ पिएफएफ ले सार्वजनिक गरेको छ।

पहलो चरणमा ५–५ टिमको चार समूहमा प्रतिस्पर्धा हुनेछ।

मासा युनाइटेडले समूह ‘बी’ मा कराची युनाइटेड, कराची वुमेन्स एफसी, एचईसी र सियायलकोट सिटीविरुद्ध खेल्नेछ। चारै जना खेलाडीको पारिश्रमिकबारे भने खुलाइएको छैन।

एपिएफले महिला लिगको उपाधिमा ह्याट्रिक गर्दा उनीहरूको प्रदर्शन महत्वपूर्ण रहेको थियो। उनीहरू पहिलोपल्ट विदेशी क्लबमा आवद्ध भएर खेल्न लागेका हुन्।