स्वास्थ्य मन्त्रालयले मन्त्रिपरिषद्को आदेशविपरीत पहुँचका आधारमा जोखिम भत्ता वितरण गरेको पाइएको छ ।
कोरोना संक्रमितको पहिचान, नियन्त्रण र उपचारमा संलग्नले नपाएको अवस्थामा तत्कालीन स्वास्थ्यमन्त्री र राज्यमन्त्रीको सचिवालय सदस्यहरुलाई जोखिममा काम गरेसरह सबै दिनको भत्ता उपलब्ध गराइएको हो ।
मन्त्रालय, यूएन एजेन्सी र अन्य अन्तर्राष्ट्रिय संस्थाबाट तलब बुझ्ने गरी सचिवालयमा रहेका कर्मचारीलाई समेत कोरोना अवधिमा जोखिम मोलेर काम गरेको भन्दै भत्ता दिइएको छ ।
मन्त्रालयले गत चैत ११ देखि कात्तिकसम्म २३० लिनको जोखिम भत्ता वितरण गरेको थियो । यसमा चैतदेखि असारसम्म १ सय १० दिनको पहिलो चरण, साउनदेखि असोजसम्म ९० दिनको र कात्तिकको ३० दिनको भत्ता वितरण गरेको थियो ।
तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकालको सचिवालयमा बस्ने उपस्वकीय सचिव गुरुप्रसाद खतिवडा भुवन ले २३० दिनको जोखिम भत्ताबापत १ लाख ३९ हजार ३ सय ११ लिएका छन् ।
स्वकीय अधिकृत विष्णुप्रसाद खनालले २३० दिनकै १ लाख २४ हजार २ सय र प्रशासन सहायक कृष्णबहादुर गुरुङले पनि पुरै दिनको १ लाख ७ हजार १९ रुपैयाँ भत्ता बुझेका छन् । (Kantipur)