प्रतिपक्षी दलको अनुपस्थितिमै चल्यो संसद बैठक

सुर्खेत-  शनिबार कर्णाली प्रदेश सभाको छैटौं अधिवेशनअन्तर्गतको २३ औं बैठकको कार्यसूची अनुसार सञ्चालनका लागि अघि बढ्यो।

बैठक सुरू गर्दै सभामुख राजबहादुर शाहीले सुरूमा स्थानीय तहका जनप्रतिनिधिहरूको सेवासुविधासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सदनमा टेबुल गर्न अनुमति दिए।

त्यसपछि सभामुखले प्रदेशको विनियोजन विधेयक २०७७ माथि दफावार छलफल गर्नका लागि असार २० गतेदेखि २३ गतेसम्मको कार्यसूची जानकारी गराए। जस अनुसार शनिबार (२० गते) विनियोजन विधेयकअन्तर्गत आन्तरिक मामिला तथा कानुन र सामाजिक विकास मन्त्रालयसँग सम्बन्धित शिर्षकमाथि छलफल गर्ने कार्यसूची थियो।

यसमा छलफलका लागि सुरूमा सभामुखले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेतालाई आग्रह गरे।

संसदीय दलका नेता जीवनबहादुर शाहीको नाम सभामुखले ३ पटकसम्म लगातार बोलाए।

तर दलका नेता शाही मात्र होइन प्रतिपक्षी दलका ६ जनै सांसद सभामा उपस्थित थिएनन्। प्रतिपक्षी दलका सांसद बस्ने रोस्टमका कुर्सी सबै खाली थिए। सोही रोस्टमको पछाडि बसेकी राप्रपाका तर्फबाट प्रतिनिधित्व गर्ने सांसद सोशिला शाहीले प्रतिपक्षी दल उपस्थित नहुनुको कारणबारे सभामुखलाई सोधिन्। तर सभामुखले पनि जानकारी नभएको बताए।

प्रतिपक्षी दल उपस्थित नभएपछि शनिबारको कर्णाली प्रदेश सभाको बैठक प्रतिपक्षी दलको अनुपस्थितिमै चलेको छ। प्रमुख प्रतिपक्षी दलले समेत प्रदेश सभालाई आफ्नो अनुपस्थितिको बारेमा जानकारी गराएको थिएन।

प्रतिपक्षी दलका सांसद दीनबन्धु श्रेष्ठले प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष ०७७/७८ को बजेट ‘डल्लो’ भएकोले विरोध जनाउँदै आएको बताए। उनका अनुसार विगत १० दिनयता प्रतिपक्षी दलले सदन अवरूद्ध गरिरहेको थियो।

शनिबारको बैठकमा तय गरिएको कार्यसूची अनुसारको विषयमा प्रतिपक्षी दलको कुनै धारणा नभएकाले बैठकमा उपस्थित नभएको सांसद श्रेष्ठले बताए।

‘प्रदेश सरकारले डल्लो बजेट ल्याएपछि त्यसलाई फुटाउन भनेर हामीले लामो समयसम्म सदन अवरूद्ध गर्यौं,’ उनले भने, ‘शनिबार छलफल भएका कानुन र सामाजिक विकास मन्त्रालयसँगै प्रदेश सभा सचिवालयको शिर्षक ठीकै भएकाले हामी छलफलमा सहभागी हुन आवश्यक नदेखिएकोले नगएका हौं।’

यीबाहेक अन्य मन्त्रालयको शिर्षक बाँडफाँटको विषय नमिलेको सांसद श्रेष्ठले बताए।

‘कतिपय मन्त्रालयको शिर्षक तथा त्यसमा हाल्ने बजेट मिलेको छैन, हामीले ती मन्त्रालयको शिर्षक मिलाएर हामीलाई दिन भनेका छौं,’ उनले भने, ‘तर अझसम्म पनि हामीले नपाएकाले सदन अवरूद्ध गरेका हौं।’

प्रतिपक्षी दलको उपस्थितिबिनै चलेको शनिबारको बैठकमा सत्तारूढ दलका सांसदहरू चन्द्र बहादुर शाही, अमर थापा, ठम्मर विष्ट र राप्रपाका तर्फबाट सांसद सोशिला शाहीले छलफलमा भाग लिएका थिए। https://www.setopati.com/