राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच शितल निवासमा पौने घण्टा संवादमा

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री केपी ओलीले भेटघाट गरेका छन। शनिबार राष्ट्रपति भण्डारीलाई भेट गर्न प्रधानमन्त्री ओली राष्ट्रपति कार्यालय शितलनिवास, महाराजगञ्ज गएका हुन ।

उनिहरुबीच करिब पौने घण्टा भेटवार्ता भएको प्रधानमन्त्रीनिकट स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्रीको निजी सचिवलायले यस भेटघाटलाई नियमित भएको जनाएको छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र राजनीतिक सत्ता संघर्ष उत्कर्षमा पुगेका बेला भएको यस भेटमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच पार्टीका आन्तरिक राजनीतिका बारेमा पनि चर्चा भएको सामान्य अनुमान लगाउन सकिन्छ ।

पार्टीभित्रको चेपमा पद गुमाउनेसम्मको अवस्थामा पुगेका  प्रधानमन्त्री ओलीको पछिल्ला दिनमा राष्ट्रपति भण्डारीसँग लगातारजसो संवाद भइरहेको छ ।

पार्टीभित्रका प्रधानमन्त्री ओलीका विपक्षीहरुले राष्ट्रपति भण्डारी पनि पार्टीको आन्तरिक विषयमा ओलीलाई सघाउने गरी उत्रिएको आरोप लगाइरहेका छन् । यस्तोमा प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शितलनिवास गएका हुन।

यता शनिबार साँझ नै प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई बालुवाटार बोलाएर पार्टीभित्र बढ्दै गएको राजनीतिक खिंचातानीबारे जानकारी गराएका छन् ।

खुमलटारमा दाहाल–नेपाल समूहको अलग्गै रणनीति
उता प्रधानमन्त्री ओलीविरुद्ध एकजुट भएका अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल समूहले अलग्गै भेला गरेका छन् । जारी स्थायी कमिटी बैठक थप दुई दिनलाई स्थगित गरेर ओली र दाहाल–नेपाल समूह अलग अलग छलफलमा जुटेका हुन् ।

शनिबार (आज) बिहान ११ बजेका लागि बोलाइएको स्थायी समिति बैठक थप छलफल र सहमतिका प्रयासका लागि भन्दै सोमबारसम्मका लागि सारिएको हो ।

प्रधानमन्त्री ओली परामर्शका लागि राष्ट्रपति भण्डारी कहाँ पुग्दा दाहाल–नेपाल समूह खुमलटारस्थित दाहाल निवासमा जुटेका हुन् ।

खुमलटारमा दाहाल, नेपाल, नेता झलनाथ खनाल, वामदेव गौतम, रामबहादुर थापा, नारायणकाजी श्रेष्ठसहितका नेकपा सचिवालयका ६ जना भेला भएको जनाइएको छ ।

नौं सदस्यीय सचिवालयमा अल्पमतमा परेका अध्यक्ष ओलीका पक्षमा ओली, इश्वर पोखरेल र विष्णु पौडेल मात्र देखिएका छन।

दाहाल–नेपाल समूहले ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिन दबाब दिएपछि नेकपाभित्रको विवाद चरमोत्कर्षमा पुगेको छ ।

प्रधानमन्त्री ओलीले लिम्पियाधुरासहित समावेश गरेको नक्शा जारी गरेपछि भारतले आफूलाई हटाउन खोजेको र नेपालमा आफ्ना पार्टीका नेताहरु पनि संलग्न रहेको अभिव्यक्ति दिएपछि नेकपामा पछिल्लो रडाको मच्चिएको हो ।

https://www.imagekhabar.com/