सुर्खेत- मध्यपश्चिमाञ्चल विश्वविद्यालयले आम सञ्चार तथा पत्रकारीतामा स्नातकोत्तर अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्तिका लागि दरखास्त दिन आह्वान गरेको छ । विश्वविद्यालयले मंगलबार एक सुचना निकाल्दै विद्यार्थीहरुलाई दरखास्त दिन आग्रह गरेको हो ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय र कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयबीच सम्झौता भए बमोजिम मानविकी र सामाजिकशास्त्र संकाय, मानविकी र सामाजिकशास्त्र केन्द्रीय क्याम्पस अन्तर्गत पत्रकारिता र आमसञ्चार विषयमा स्नातकोत्तर तहमा अध्ययनरत पाँच जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने बताइएको छ ।
सुचना जारी गर्दै पत्रकारिता र आमसञ्चार, नेपाली शिक्षण समितिका अध्यक्ष युवराज शर्माले व्यवस्थापन निर्देशिका–२०७७ ले तोकेको मापदण्ड पुरा गरी यही असार २४ गतेभित्र दरखास्त दिन आग्रह गर्नु भएको छ ।