झापा स्पोर्टस् अवार्ड २०७६ मनोनयन सार्वजनिक


इलाम – ‘झापा स्पोर्टस् अवार्ड २०७६’ मनोनयनमा परेका खेल प्रतिभा सार्वजनिक गरिएको छ।

सोमबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा झापाले अवार्डको चौथो संस्करणको मनोनयनमा परेका चार विधाका खेल प्रतिभा सार्वजनिक गरेको हो।

सचित आनन्द सुब्बाको संयोजकत्वमा नमीन ढकाल र चिरञ्जिवी घिमिरे सदस्य रहेको समितिले २ महिनाको तयारीपछि मनोनितहरु सार्वजनिक गरेको छ।

‘झापा स्पोर्टस् अवार्ड’ चौथो संस्करणका लागि विभिन्न चार विधामा प्रत्येक विधामा तीनतीनजना र दुई विधामा छनोट समितिले प्रतिभाको लोकप्रियताको आधारमा एकएकजना सीधै छनोट गरेको प्रतिभा छनोट समितिका संयोजक सुब्बाले जानकारी दिए।

वर्ष उत्कृष्ट खेलाडी (पुरुष) मा अनन्त तामाङ (फुटबल), सेसेहाङ आङदेम्बे (फुटबल) र छिरिङ गुरुङ (फुटबल), वर्ष उत्कृष्ट खेलाडी (महिला) मा जुनी राई (उसु), देविका खड्का (जुडो), कमला श्रेष्ठ (फेन्सिङ) रहेका छन्।

त्यस्तै, वर्ष उत्कृष्ट खेलाडी (युवा) मा रेजिन सुब्बा (फुटबल), मनिता श्रेष्ठ प्रधान (जुडो), अनुजा कुलुङ राई (कबड्डी) र वर्ष उत्कृष्ट प्रशिक्षकमा प्रवेश कटवाल (फुटबल), मदन उप्रेती (कराते), वोङदेन लामा (पौडी) रहेका छन्।

वर्ष खेलाडी (पुरुष) लाई एक थान मोटरसाइकल, वर्ष खेलाडी (महिला) लाई एक थान स्कुटर, वर्ष खेलाडी (युवा) लाई नगद २५ हजार, वर्ष उत्कृष्ट प्रशिक्षकलाई नगद २५ हजार र ट्रफी प्रदान गरिने मञ्चका अध्यक्ष हिमाल खरेलले जानकारी दिए।

त्यस्तै, पिपुल्स च्वाइजअन्तर्गत एक खेलाडीलाई नगद २५ हजार र लाइफ टाइम्स अचिभमेन्ट अवार्डस्वरुप एकजनालाई नगद ३५ हजार रुपैयाँ प्रदान गरिनेछ। साथै, यो वर्ष दुईजनालाई नगद २५ हजारसहित स्पेसल अचिभमेन्ट अवार्ड प्रदान गरिने मञ्चले जनाएको छ।

‘झापा स्पोर्टस् अवार्ड’ को चौथो संस्करण यही फागुन २८ गते शुक्रबार बिर्तामोडको बिर्तामोड सिटी सेन्टरस्थित साई पार्टी प्यालेसमा हुनेछ। अवार्डमा २०७६ सालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त साविक मेची अञ्चलका झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका खेलाडी र प्रशिक्षकलाई मञ्चले सहभागी गराउँदै आएको छ।