ओलीको गृहजिल्ला झापास्थित नेकपा कार्यालयमा २ वटा ताला

झापा – नेपाल कम्युनिस्ट पार्टी  झापा जिल्ला पार्टी कार्यालयमा दुईवटा ताला लागेको छ।

प्रधानमन्त्री केपी शर्मा ओली पक्षका कार्यकर्ताले मौखिक सहमति उल्लंघन गर्दै पार्टी कार्यालयमै बैठक लगायतका गतिविधि गर्न थालेपछि प्रचण्ड-माधव पक्षका कार्यकर्ताले पनि शनिबार मूल ढोकामा ताला लगाएका हुन्‌।

यसअघि ओली पक्षका कार्यकर्तासँग मात्रै पार्टी कार्यालयको तालाचाबी थियो।

‘ओली पक्षले लगाएको ताला जस्ताको त्यस्तै छ, त्यसलाई हामीले फुटाएका छैनौं,’ प्रचण्ड नेपाल पक्षका नेकपा जिल्ला सचिव मणिकुमार साम्पाङले भने, ‘दुवै पक्षको गतिविधि पार्टी कार्यालयमा हुन नदिन हामीले नयाँ ताला लगाएका हौँ।’ आफूहरूले लगाएको ताला फुटाउने कुरा सुनिएको बताउँदै साम्पाङले अहिलेसम्म पार्टी नफुटेको र नेकपा पार्टीको वैधानिकतासँगै आधिकारिकता नआएसम्म दुवै पक्षले पार्टीको गतिविधि बाहिर गर्नुपर्ने बताए।

प्रतिनिधिसभा विघटन भएर प्रतिगमनमा गएको एक सातापछि पार्टी कार्यालयमा दुवै पक्षको भेला भएको थियो। त्यस भेलामा ओली निकट जिल्ला अध्यक्ष चिन्तन पाठक उपस्थिति थिएनन्।

कार्यालय सचिव शिव ढुङ्गेलको सहभागितामा भएको छलफलमा पार्टीको गतिविधि कार्यालयमा सञ्चालन नगर्ने मौखिक भद्र सहमति भएको सचिव साम्पाङले बताए। छलफलमा २ वटा प्रस्ताव राखेको बताउँदै उनले भने, ‘पहिलो प्रस्ताव अध्यक्ष र सचिवले आ-आफ्नो कार्य कक्षमा बैठक सञ्चालन गर्ने र दोस्रो प्रस्ताव ताला चाबी दुईवटा राख्नुपर्छ।’

तर, त्यसो गर्दा पार्टी कार्यालयमा दुवै पक्षका कार्यकर्ता भेला हुने र भेलाबाट दुवै पक्षबीच भनाभनसँगै हातपात हुनसक्ने सम्भावना बढ्ने छलफलबाट निष्कर्ष आएको तथा त्यसपछि दुवै पक्षले पार्टी कार्यालयमा बैठक र भेला नगर्ने मौखिक सहमति गरेको उनको भनाई छ। (Thahakhabr)