भागरथी हत्या प्रकरणमा पक्राउ परेका किशोरले बलात्कार समेत गरेको स्वीकारे

काठमाडौं – बैतडीकी किशोरी भागरथी भट्टको हत्या आरोपमा पक्राउ परेका १६ वर्षीय किशोरले आफूले बलात्कार समेत गरेको स्वीकारेका छन् । बिहीबार सरकारी वकिलले लिएको बयानका क्रममा उनले आफूले किशोरीलाई बलात्कार गरेको स्वीकार गरेका हुन् । यसअघि उनले आफूले हत्यामात्रै गरेको स्वीकारेपनि बलात्कार नगरेको दावी गर्दै आएका थिए ।

तर अभियुक्त किशोरका बुबालाई समेत साक्षी राखेर सरकारी वकिलले लिएको बयानका क्रममा आफूले घटनास्थलमा बलात्कार गरेको स्वीकार गरेका हुन् । स्रोतका अनुसार आफूमा बदलाको भावना रहेको र सोहीअनुसार आफूले भागरथीको बलात्कारपछि हत्या गरेको उनले प्रहरीलाई बताएका छन् ।

स्रोतले रातोपाटीलाई बताएअनुसार किशोरका आफन्त केही वर्ष पहिले बलात्कृत भएको र सो बलात्कारको आरोप भागरथीका आफन्तमाथि लागेको थियो । सोही प्रकरणमा किशोरमाथि बदलाको भावना रहँदै आएको अनुसन्धानबाट खुलेको छ ।

बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले सोही गाउँका १६ वर्षीय किशोरलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय बैतडीले पत्रकार सम्मेलनमार्फत उनलाई सार्वजनिक गरेको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक (डिआइजी) उत्तमराज सुवेदीले विभिन्न कोणबाट गरेको अनुन्धानबाट अभियुक्त समात्न सफल भएको बताए । उनका अनुसार शङ्कास्पद गतिविधि, प्राविधिक पक्षको विश्लेषण, लोकेसन, प्रत्यक्षदर्शी र साबिती बयानका आधारमा प्रहरीले आरोपितलाई पक्राउ गरेर सार्वजनिक गरेको हो ।

भागरथीले नै अध्ययन गर्ने सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्ने किशोरले माघ २१ गते भागरथीको पिछा गर्दै लवलेक जङ्गलमा एक्लै भएको मौका छोपेर बलात्कारपछि हत्या गरेको खुलेको प्रहरी स्रोतको भनाइ छ । भागरथीको हत्या गर्ने पूर्वयोजना रहेको र माघ २१ गते विद्यालयबाट अन्तिम कक्षा छोडेर घर फर्किएको, सिल्ल भन्ने स्थानबाट मृतकभन्दा अगाडि गएर सडकमा कुरेर बसेको, आफू रहेको स्थानमा भागरथी पुग्ने बित्तिकै उनले घटना घटाएको प्रहरीले बुधबार नै जानकारी दिएको थियो । ।

मृतक भागरथीका दाजु शङ्कर भट्टले किशोरविरुद्ध कर्तव्य ज्यान र बलात्कारसम्बन्धी कसुरमा कारवाहीका लागि जाहेरी दर्ता दिइसकेका छन् भने अभियुक्तलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत बैतडीले प्रहरीलाई अनुमति दिएको छ ।

प्रहरीले अभियुक्त सार्वजनिक गरेको भए पनि भागरथीका आफन्तले भने अझै पनि शव भने बुझेका छैनन् । उनको शव जिल्ला अस्पताल बैतडीमा रहेको छ । अभियुक्त भनेर प्रहरीले सार्वजनिक गरिएका किशोरले हत्या मात्रै गरेको बताएकाले बलात्कारीको खोजी गर्नुपर्ने आफन्तको माग थियो । तर आज अभियुक्तकै बाबुका सामुन्ने आफूले बलात्कारपछि हत्या गरेको स्वीकारेका हुन् । -रातोपाटी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *