सुर्खेत – सुर्खेतको लेखगाउँ स्वास्थ्य चौकीमा संचालित महिलाको पाठेघर सम्बन्धी समस्या एंवम परिवार नियोजनको अस्थायी साधनबारे एकदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।\
उक्त शिविरबाट ६४ जनाले सेवा लिएका छन् । बराहताल गाउँपालिका र लेखगाउँ स्वाथ्य चौकीको आयोजनामा बुधबार उक्त शिविर संचालन गरिएको हो ।जसमा ६० जनाले पाठेघर सम्बन्धी र चार जना महिलाले परिवार नियोजनका साधनबारे सेवा लिएका हुन् ।
पाठेघर सम्बन्धी समस्या भएका महिलालाले खुलेर आफ्नो धारणा राख्न नसक्ने भएकाले महिला स्वास्थ्य स्वंयमसेविका र आमा समूहमार्फत उनीहरुलाई स्वास्थको पहँचमा ल्याइएको थियो । बराहताल ५ का वडाध्यक्ष झकडबहादुर पुलामीका अनुसार गाउँमा अरुको लाजले आफ्नो समस्या बताउन नसक्ने र आर्थिक कमजोरी भएका महिलालाई लक्षितगरी निशुल्क शिविर संचालन गरिएको हो ।
कुनै पनि महिलाले शाररीक अवस्था कमजोर भएर बस्न नपरोस भन्ने उद्देश्यले शिविर संचालन गरिकएको वडाध्यक्ष पुलामीको भनाइ छ । शिविरमा जाँच गरिएकामध्ये ६ जना पाठेघर खसेका महिलाको थप उपचार गर्नुपर्ने देखिएपछि प्रदेश अस्पताल सुर्खेत पठाइएको लेखगाउँ स्वास्थ्य चौकी प्रमुख उदयबहादुर थापाले जानकारी दिए ।
एकजना तेस्रो स्टेज र ५ जना दोस्रो स्टेजमा पुगेका महिलालाई प्रदेश अस्पतालमा थप उपचारको लागि पठाइएको उनको भनाई छ ।त्यस्तै १० जना पहिलो चरणको पाठेघर समस्या भएका महिलालाई स्वास्थ्य संस्थाबाट सेवा दिएको उनले बताए ।
यसका साथै ४ जनाले परिवार नियोजनका साधन इम्पलान्ट प्रयोग गरेका छन् । कलिलो उमेरमा धेरै बच्चाबच्ची जन्माउने, स्वास्थ्य संस्थामा नगई असुरक्षित रुपमा घरमै सुत्केरी गराउने, सुत्केरी भएको केही दिनमै खेतबारीको काममा लाग्ने, आफ्नो समस्या लुकाउने, आर्थिक अभाव जस्ता कारणले महिलामा पाठेघर खस्ने समस्या बढ्दै गरेको पाइन्छ ।