राष्ट्रिय महिला लिग : आर्मी र पुलिसको खेल जारी

काठमाडौं – राष्ट्रिय महिला लिग फुटबलमा अहिले त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा भइरहेको छ।

केहिबेर अघि सुरु भएको खेल आर्मीका लागि महत्वपूर्ण रहेको छ। दोस्रो स्थानमा रहेको आर्मीलाई उपाधिको सम्भावना कायम राख्न जित्नै पर्ने दबाब छ। पुलिसलाई पराजित गरेमा आर्मीको उपाधि होड कायम रहनेछ। आर्मी पुलिससँग पराजित भएमा शीर्ष स्थानको एपीएफले दुई खेल अगावै उपाधि जित्नेछ।

आर्मीको १० खेलमा २५ अंक जोडेको छ। पाँचौं स्थानको पुलिसको १४ अंक रहेको छ। उपाधि नजिक रहेको एपीएफको ३० अंक रहेको छ। एपीएफले आजै विराटनगर महानगरपालिकासँग खेल्नेछ।

एपीएफ र विराटनगरबीचको खेल अपरान्ह ३ बजे सुरु हुनेछ। एपीएफ विराटनगरलाई हराएर एक खेल अगाबै उपाधि जित्न चाहन्छ। एपीएफलाई उपाधिका लागि एक जित मात्रै आवश्यक छ। जारी लिगमा एपीएफ अपराजित रहने एक्लो टिम हो। तर, चोटको कारण मुख्य स्ट्राइकर सावित्रा भण्डारीले खेल्ने छैनन्। उनी करिब एक वर्ष मैदान बाहिर रहने भएकी छिन्।