सल्यान बहु विवाहको अरोपमा पक्राउ परेका सल्यान बनगाड कुपिण्डे नगरपालिका–९का वडा अध्यक्ष इन्द्रबहादुर कुमाईलाई जिल्ला अदालत सल्यानले एक वर्ष कैदको फैसला सुनाएको छ । ५२ वर्षीय कुमाईलाई कैदसंगै थप १० हजार जरिवानाको फैसला गरिएको हो ।
जिल्ला अदालत सल्यानका न्यायाधीश कुल प्रसाद पाण्डेको इजलासले वडा अध्यक्ष र उनीसँग बहु विवाह गरेकी ४८ वर्षीय ग्वाँमी विष्ट कुमाईलाई एक वर्ष कैद र जनही १० हजार जरिवानाको फैसला सुनाएको हो ।
घरमा दुई पत्नी र दुवै पत्नीका तर्फबाट ४ वटा छोराछोरी हुँदाहुँदै वडा अध्यक्षले स्थानीय महिलालाई मङ्सिर ३ गते भगाएर सम्पर्क विहीन भएका थिए ।
लुकीछिपी बसी रहेको अवस्थामा प्रहरीले दुबैजनालाइ मङ्सिर १९ गते जयतपानीबाट पक्राउ गरेको थियो । यस अघिनै वडाध्यक्ष कुमाईले आफूले तेस्रो विवाह गरेको स्वीकार गरेका थिए ।