कर्णाली प्रदेश – पहिलो चरणमा ८२ प्रतिशतलाई कोरोना खोप लगाइयो

 सुर्खेत – कर्णालीमा पहिलो चरणमा प्राथमिकतामा परेका ८२ प्रतिशतलाई कोरोनाविरुद्धको ‘भ्याक्सिन’ लगाइएको छ । यहि माघ १४ देखि २४ सम्म संचालित खोप अभियानमा स्वास्थ्यकर्मीलाई प्राथमिकतामा राखेर पहिलो चरणको खोप लगाइएको हो ।

पहिलो प्राथमिकतामा परेका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका, सरसफाइमा कार्यरत कर्मचारी, एम्बुलेन्स चालक तथा शव व्यवस्थापनमा खटिने व्यक्तिहरूलाई खोप लगाइको होे । यसका साथै वृद्धाश्रमका ज्येष्ठ नागरिक र कैदीबन्दीहरूलाई पनि खोप लगाइसकिएको छ ।

लक्ष्यअनुसार नै खोप लगाउन सफल भएको स्वास्थ्य सेवा निर्देशनालयका नि. निर्देशक डा. रविन खड्काले बताए । कर्णाालीमा ११ हजार सात सय ८१ जनालाई खोप दिने लक्ष्य लिइएकोमा नौ हजार चार सय २० जनालाई खोप लगाइएको छ । केहि महिला स्वयम सेविका, गर्भवती र स्तनपान गराईराखेकि आमा खोप लगाउनबाट छुटेकाले ११ हजार नै पु¥याउन नसिकिएको डा. खड्काको भनाई छ ।तर पनि पहिलो चरणमा खोप लगाउने कार्यक्रम सफलतापूर्वक सफल भएको उनको भनाई छ ।

पहिलो चरणको खोप लगाउने काम सकिएपछि अब दोस्रो चरणका लागि तयारी थालिएको छ । स्वास्थ्यकर्मीलाई प्राथमिकतामा राखेर लगाइएको पहिलो चरणको खोप अब अन्य पेसा व्यवसायमा संलग्नलाई पनि दिइने छ।

स्थानीय तह, जिल्ला प्रशासन कार्यालयहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी, मालमोत, नापी, विद्युत, खानेपानी, यातायात, टेलिकम तथा कार्यालय बैंकमा कार्यरत कर्मचारी लगाएतलाई दोस्रो चरणको खोप दिन लागिएको हो । यसबाहेक अन्य वर्गलाई पनि छिट्टै खोपको दायरामा ल्याइने स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ।

दोस्रो चरणको प्राथमिकतामा सेवाप्रदायक निकायका कर्मचारीसंगै ५५ वर्षदेखि ७४ वर्ष उमेर समूह, ४० देखि ५४ वर्ष उमेर समूहमध्ये तोकिएका दीर्घरोग भएका व्यक्तिहरू, वैदेशिक रोजगारबाट फर्किएकाहरूलाई खोप लगाइने जनाइएको छ । प्रदेशमा दोस्रो चरणको खोपको तयारी भइरहेकाले संघीय सरकारले निर्णय गरेलगत्तै अभियान थालिने निर्देशक खड्का बताउँछन् ।

कोरोना रोकथाम, नियन्त्रणका लागि गरिएको कोभिड प्रतिकार्य प्रभावकारी भएको र यो समयमा स्वास्थ्य पूर्वाधारको समेत विकास भएको निर्देशनालयले जनाएको छ । कोभिड रोकथामका लागि प्रदेशका २७ वटा रणनैतिक स्थानमा चिकित्सक परिचालन, पूर्वाधार तथा प्रयोगशाला परीक्षणको विस्तार, नागरिकहरूमा रोगबाट बच्न जनचेतना अभिवृद्धिलगायतका काम भएको निर्देशनालयले जनाएको छ ।

उच्च जोखिम हुँदाहुँदै अन्य प्रदेशको तुलनामा कर्णालीमा कोरोना संक्रमितको संख्या न्यून हुनुले पनि नियन्त्रणमा उल्लेख्य उपलब्धी भएको मान्न सकिने निर्देशक खड्काले बताए ।