सावित्राको दोहोरो ह्रयाट्रिक, चन्द्रपुरको पोस्टमा एपिएफको ८ गोल

इलाम – महिला लिगमा सोमबारको खेलमा अपराजित रहेको विभागीय टोली सशस्त्र प्रहरीको एपिएफले रौतहटको चन्द्रपुर नगरपालिका माथि ८–० गोल अन्तरको सहज जीत निकालेको छ। एपिएफको उपाधि यात्रालाई बलियो बनाउन सावित्रा भण्डारीले दोहोरो ह्रयाट्रिक गरिन्।

कप्तान अनिता बस्नेतको नाममा २ गोल रहयो। सुरुवातबाटै दबाव बनाएको एपिएफले खेलको १ मिनेट नबित्दै अग्रता लियो। सावित्रा भण्डारीको पासमा अनमार्क रहेकी कप्तान अनिताले जाली चुमाइन्। छैटौं मिनेटमा गोलरक्षक एन्जिला तुम्बापोको लामो प्रहारलाई सेन्टरबाट नियन्त्रणमा लिँदै सावित्राले अग्रता दोब्बर बनाइन्।

३३ मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि एपिएफले पहिलो हाफमा ३–० को अग्रता लिन सफल भयो। सुस्मा महर्जनले डिबक्स बाहिर ह्याण्ड गरेपछि पाएको फ्रिकिकलाई साबित्राले सदुपयोग गरिन्। गोलरक्षक युनिसा राईले पञ्च गरे पनि बाहिर पठाउन सकिनन्। ४७ औ सावित्राले ह्रयाट्रिक पुरा गरिन्। अनु लामाको पासमा गोलरक्षक युनिसा अघि बढेको मौकामा सावित्राले खाली पोष्टमा गोल गरिन्।

५४औं मिनेटमा अनिताले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गरिन्। सावित्राको पासमा डिबक्सभित्र चन्द्रपुरको डिफेन्डरको बिचबाट गरेको प्रहारले जाली चुम्यो। ६०औं मिनेटमा सावित्राको गोलमा एपिएफले खेलमा ६–० को अग्रता लिन सफल भयो।

रौतहटका खेलाडीको कमजोरीको फाइदा उठाउँदै सरु लिम्बूले दिएको पासलाई सावित्राले सहजै फिनिस गरिन्। ६२औं मिनेटमा सावित्राले व्यक्तिगत पाँचौ गोल गरिन्।

७९ औं मिनेटमा सावित्राले दोहोरो ह्याट्रिक पूरा गर्दा एपिएफले खेलमा ८–० को आरामदायी अग्रता लिन सफल भयो। पहिलो राउन्डमा एपिएफले चन्द्रपुर विरुद्ध ६–० को फराकिलो जित निकालेको थियो।

यो जितसँगै अपराजित रहेको एपिएफको आर्मीसंगको अंक दुरी ५ बनाएको छ। एपिएफको ८ खेलबाट २४ अंक छ। एपिएफले लिगको आठौं चरण सकिदा ६५ गोल गर्दा एक गोल पनि खाएको छैन। पराजित चन्द्रपुर ८ खेलबाट ६ अंक जोडेर छैटौ स्थानमा रहेको छ।
लिगमा बिहीबार दुई खेल हुनेछ। पहिलो खेलमा चौदण्डीगढी नगरपालिका उदयरपुर र वालिङ नगरपालिका स्याङ्जा तथा दोस्रो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र बिराटनगर महानगरपालिका मोरङबीच प्रतिस्पर्धा हुनेछ।